काठमाडौं, भदौ २० । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नेकपा विघटन गर्ने, एमाले फुटाउने र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरी नेपाललाई उपनिवेश घोषित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । एमसीसीका गलत प्रावधान संशोधन नगरी संसद्बाट पारित गर्नुजस्तो ठूलो राष्ट्रघात र देशद्रोह केही नहुने उनको भनाइ छ ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “एमसीसीकी उपाध्यक्ष नेपाल भ्रमणमा आउने बेला पारेर भदौ २३ गते संसद्को अधिवेशन बोलाउनुले एमसीसी पारित गर्ने षड्यन्त्रको गन्ध आइरहेको छ । नेपाली मन र नेपालीपन भएका हरेकले सोच्नुपर्ने कुरा हो भने आज भारत–चीन, चीन–अमेरिकाजस्ता ठूला शक्तिराष्ट्रबीच स्वार्थको द्वन्द्व छ । त्यसको भुमरीमा परेर नेपाललाई अफगानिस्तान किन बनाउने ? यसबारेमा माधव नेपाल, प्रचण्ड, देउवाहरु किन बोलिरहेका छैनन् ?”
नेता रावलले एमसीसीलाई सरकारले सोधेका ११ प्रश्न नक्कली भएको टिप्पणी गरे । उनले थपे, “म अन्तर्राष्ट्रिय कानुनको विद्यार्थी पनि हुँ । नेपालले अमेरिकाको आजको कानुन पनि मान्नुपर्ने, भोलि बन्ने कानुन पनि मान्नुपर्ने किन ? यस्ता प्रश्नको जवाफ आएपछि पारित गरे भइहाल्छ नि भन्ने कुरा पहिले पनि गरिएको थियो । यो नेपाली जनतालाई ढाँट्ने र छल्ने कुरा मात्र हो । एक थरी सम्झौता गर्ने, अर्को थरी हो भनेर झुक्काउने षड्यन्त्र हो ।
“
कथित विज्ञहरुले विकासको हवाला दिएर एमसीसीको पक्षपोषण गरिरहेको भन्दै उनले आलोचना गरे । उनले भने, “डलरको खेती गर्नेहरुले मसँग टेलिभिजन बहस गरुन् । एनसेलले नेपाललाई ७५ अर्ब कर तिर्न बाँकी छ भने ५५ अर्ब कुन ठूलो पैसा हो र ? त्यो पनि अधिकांश रकम उनीहरुकै परामर्शदाताले लैजान्छन् । यति खतरानाक सम्झौतालाई आँखा चिम्लेर पारित गर्न खोज्नु जस्तो घिनलाग्दो र लज्जास्पद केही हुने छैन ।”
उनले आफ्नो एमालेले एमसीसी पास गर्ने संस्थागत निर्णय लिए पनि आफूले नमान्ने घोषणा गरे । उनले भने, “पार्टीको निर्णय म जान्दिनँ । एमसीसीका सन्दर्भमा कुनै अनुशासन पनि मान्दिनँ । म राष्ट्रविरुद्धको अपराधको साक्षी बन्दिनँ ।”