काठमाडौं, भदौ २१ । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेललाई आफ्नो पार्टी सम्हाल्न नसक्ने नेकपा एमालेले सभामुखलाई दोष दिन नमिल्ने बताए । सभामुख अग्निप्रसाद सापकोटा कसैको कारिन्दा नभएकाले राजीनामा दिने प्रश्नै नभएको उनको तर्क छ ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “केपी ओलीले आफ्नो पार्टीलाई सम्हाल्न नसक्ने अनि सभामुखलाई दोष दिने ? उहाँले किन दिने राजीनामा दिने ? उहाँले सभामुखको क्षेत्राधिकारभित्र रहेर काम गर्नुभएको छ । उहाँ नेकपा एमालेको कारिन्दा होइन । सभामुखले निर्वाचन आयोगमा विचाराधीन मुद्दा भएको र दल विभाजनसम्बन्धी अध्यादेशका कारण एमालेको कारबाहीको सूचना टाँस नगर्नुभएको हो । एमालेले सभामुखलाई अनावश्यक दबाब दिएर लखेट्न मिल्दैन ।” उनले आफूलाई सभामुख प्रस्ताव गर्ने दल या त्यसका नेताप्रति सभामुखको भावनात्मक सहानुभूति हुनु स्वाभाविक भएको पनि बताए ।
एमसीसीका केही बुँदालाई नसच्चाए जस्ताको तस्तै पास गर्ने पक्षमा माओवादी केन्द्र नरहेको पनि पौडेलले बताए । उनले भने, “हामी एमसीसीका केही बुँदालाई नसच्चाए जस्ताको तस्तै पास गर्ने पक्षमा छैनौं । यसको अर्थ सदाका निम्ति अमेरिकी सहयोग इन्कार नगर्ने भनेको होइन, तर अमेरिकाले अरु देशको कानुनलाई प्रभावित हुने काम गर्नुहुन्न ।”
उनले सभामुख सापकोटा एमसीसीको विरोधमा नभएको पनि बताए । उनले थपे, “सभामुखको भूमिका प्रक्रियामा लैजाने मात्र हो । उहाँले राष्ट्रिय मुद्दा भएकाले सहमति गरेर आउन दलहरुलाई भन्नुभएको छ । उहाँलाई किन विवादमा मुछ्ने ?”
दलहरुले मन्त्रीको छनोट गर्न नसकेर भन्दा पनि दलबदलको समयावधि भदौ २२ सम्म रहेकाले मन्त्रिपरिषद् विस्तारका लागि केही दिन पर्खिनुपरेको उनको जिकिर छ । उनले भने, “नाम दिन नसकेर होइन, माधवकुमार नेपालजीको अनुरोधमा हामीले केही दिन पर्खेका हौं । भदौ २३ गते संसद् आह्वान भएको छ । अब मन्त्रीमण्डल विस्तार हुन्छ । हाम्रा साथीहरुले सबै जना एकै चोटि मन्त्री बन्न सक्दैनन् भन्ने बुझ्नुभएको छ ।”