Logo

संखुवासभा हत्याकाण्डका केही ‘क्लु’ फेला परेका छन्ः डीएसपी लालध्वज सुवेदी



काठमाडौं, भदौ २२ । संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले कार्की परिवारका ६ सदस्यको निर्मम हत्याकाण्डको केही सूचना फेला परेको बताएका छन् । तर, त्यसको विश्लेषण नगरी सार्वजनिक गर्नु हतारो हुने उनको भनाइ छ ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डीएसपी सुवेदीले भने, “मादी नगरपालिकाको वडा नं १, खोलागाउँमा कार्की परिवारका ६ सदस्यको निर्मम हत्या भएको छ । घटनास्थल सदरमुकामबाट ८०, ८५ किलोमिटर पर छ । अनुसन्धानका लागि कुकुरको टोली आउन समय लागेकाले घटनास्थल र शवहरुको जाँच आज मात्र हुन्छ । मृतकहरुमाथि धारिलो हतियार प्रयोग गरिएको छ । अनुसन्धान प्रक्रिया जारी छ । सम्पूर्ण तथ्यहरु आइसकेका छैनन् । प्राप्त सूचना प्राविधिक रुपलेसत्यापन हुने क्रममा छ । कसले र किन गर्यो भन्ने निष्कर्ष आउन अलिक समय लाग्छ ।”
पहाडमा एउटा घरबाट अर्को घरको दूरी निकै हुने भएकाले सबै कुरा थाहा हुन नसकेको उनले बताए । उनले थपे, “विकट ठाउँमा भएकाले सूक्ष्म जाँच गर्न पाएका छैनौं । घरका एक मात्र जीवित सदस्य ९० वर्षका वृद्ध हुनुहुन्छ । उहाँ आँखा कम देख्ने, कान पनि कम सुन्ने हालतमा हुनुहुन्छ । मृतक तेजबहादुर कार्कीका दुई छोरामध्ये रमेश कार्की मलेसिया र नरेश कार्की दुबईमा काम गर्ने जानकारी भएको छ । गाउँलेले चिच्याहट नसुनेको बताएका छन् । सरल, सोझो, कृषक परिवारको गरिखाने मान्छे भनेका छन् । हामी थप सूचनाको खोजीमा छौं । दोषी पत्ता लगाउने हिसाबले काम गरिरहेका छौं ।”

घटनामा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की , ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन र ७ वर्षीया गोमा मृत फेला परेका थिए । अब हत्यारा कति समयमा पत्ता लाग्छ भन्ने प्रश्नमा डीएसपी सुवेदी भने, “कुनै पनि अनुसन्धान यति घन्टा र यति मिनेटमा हुने भन्ने कुरा हुँदैन । एकै घन्टामा पनि काम होला, अथवा केही पनि दिन लाग्ला । अलिकति समय त पक्कै लाग्ला ।”



प्रतिक्रिया दिनुहोस्