काठमाडौं, २४ भाद्र । पूर्वमन्त्री विना मगरले माओवादी जनयुद्ध देखि लामो राजनीतिक आरोह अवरोह पार गरेकी छिन् । कैलालीबाट टिकट पाउँदा उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी भएकैले अवसर पाएको भन्दै आलोचना भयो । उनले त्यहाँ जित हासिल गरिन् ।
जितेपछि खानेपानीमन्त्री बनाइन् । त्यतिबेला पनि उनको प्रचण्डको परिवारको सदस्य भएकाले अवसर पाएको आरोप लाग्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डमाथि इंकित गर्दै परिवारलाई मात्र अवसर दिएको भनी व्यङ्ग्य गरेका थिए । तर, खानेपानीमन्त्रीका रुपमा विना मगरको सक्रिय भूमिका देखियो ।
अहिले फेरि विना मगरले माओवादीमा महत्वपूर्ण जिम्मेवारी पाउने भएकी छिन् । उनलाई सुदूर पश्चिम प्रदेशको अध्यक्षको जिम्मेवारी दिने टुंगो लागेको छ । माओवादी नेताहरुको कार्यविभाजन घोषणा हुँदा मगरलाई उक्त जिम्मेवारी दिइने बुझिएको छ ।
माओवादीले सुदूर पश्चिमको इञ्चार्जमा खगरा भट्ट र सहइञ्चार्जमा तारामान स्वाँ र लक्ष्मी जोशीलाई नियुक्त गरिसकेको छ । लेखराज भट्ट माओवादीबाट एमालेमा गएपछि सुदूर पश्चिममा माओवादीको कमाण्डमा रिक्तता आएको छ । त्यसलाई पूरा गर्न विना मगरलाई प्रचण्डले चुनौतीपूर्ण जिम्मेवारी दिन लागेको बुझिएको छ ।-File Photo