Logo

नेपालमै आएर एससीसी पास गर्नैपर्छ भन्नु आन्तरिक मामिलामा हस्तक्षेपः गजुरेल



काठमाडौं, भदौ २५ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले नेपालमा आएर एससीसी पास गर्नैपर्छ भन्नु आन्तरिक मामिलामा हस्तक्षेप भएको आरोप लगाएका छन् । उनले एमसीसी प्रकरणले नेपालमा राष्ट्रभक्त र राष्ट्रघातीको कित्ताकाट गरिदिएको पनि बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने,  “एमसीसी उपाध्यक्षहरुको लस्करलाई सरकारले किन बोलाएको ? नेपालमै आएर एमसीसी पास गर्नैपर्छ भन्नु आन्तरिक मामिलामा हस्तक्षेप हो । उनीहरु नेपालका पाहुना त हुन् तर ‘अनवान्टेड गेस्ट’ । एमसीसी प्रकरणले नेपालमा राष्ट्रभक्त र राष्ट्रघातीको कित्ताकाट गरिदिएको छ, जनतालाई राम्रोसँग बुझ्ने मौका दिएको छ ।”

नेता गजुरेलले एमसीसी परियोजना ल्याउनुको उद्देश्य नेपालको आर्थिक विकासभन्दा पनि चीनसँग प्रतिस्पर्धा र सामरिक गतिविधिका लागि भएको पनि आरोप लगाए । उनले भने, “अमेरिका एमसीसीका नाममा नेपालका बहुमूल्य धातु, खनिज र जलस्रोत कब्जा गर्न आएको हो । त्यसैले यो राष्ट्रघाती परियोजना हो ।”

शेरबहादुर देउवा, बाबुराम भट्टराई, रामशरण महतहरुलाई राष्ट्रहित नचाहिने पनि उनले बताए । उनले भने, “एमसीसीबाट उनीहरुका व्यक्तिगत र पार्टीगत हित होला, राष्ट्रहित हुँदैन । त्यसैले एमसीसी फिर्ता हुनु ठीक छ । त्यसमा हामीलाई खुसी नै लाग्छ ।”

आफूहरुले विरोधका लागि विरोध नगरेको दाबी पनि गजुरेलले गरे । उनले भने, “युएसएआईडीले मलेरिया उन्मूलन गरिदिँदा हामीले अमेरिकालाई धन्यवाद दिएकै हो । एमसीसीभन्दा बढी पैसा एनसेलसँग उठाएर गरे भइहाल्यो नि । आफ्नै स्रोत परिचालन गर्न सकियो भने धेरै योजना बन्न सक्छन् । एससीसीका लागि नेपालले किन मरिमेट्नु पर्यो र ? हामीले टनकपुर सन्धिको विरोध गरेका थियौं, त्यतिबेला पश्चिमबाट घाम उदाउँछ, सुतीसुती अर्बौं आउँछ भन्ने केपी ओली नै होइनन् ? परिणाम के आयो, सबैलाई थाहा छ ।”



प्रतिक्रिया दिनुहोस्