Logo

उपेन्द्र यादव सरकारमा जान इच्छुक, जसपाभित्रैबाट रोक्ने प्रयास



काठमाडौं, २६ भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा जान इच्छुक देखिएका छन् । उनले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री मागेको बुझिएको छ ।

उपप्रधानमन्त्रीसहित परराष्ट्र या अर्को कुनै विकासे मन्त्रालय पाएमा यादव सरकारमा जाने भएका हुन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुनैपनि उपप्रधानमन्त्री नराख्ने रणनीति बनाएका छन् ।

यादवलाई सरकारमा जानबाट रोक्न अर्का नेता डा. बाबुराम भट्टराईले प्रयास गरिरहेका छन् । उनले राजेन्द्र श्रेष्ठलाई जसपाबाट सरकारको नेतृत्व गरेर पठाउने उद्देश्य राखेको बुझिएको छ ।

जसपाबाट उपेन्द्र यादव सरकारमा नगए रेणु यादवको भाग्योदय हुनसक्छ । महेन्द्र राय यादवको पनि सरकारमा जाने सम्भावना बलियो देखिएको छ ।

उपेन्द्र यादवले पहिलो चरणमा दुईजना र अर्को चरणमा थप मन्त्री चयन गरी पठाउने तयारी गरेको बुझिएको छ । मन्त्रीका सम्भावितमा मोहम्मद इस्तियाक राई, रामसहाय यादव, प्रदीप यादव, अमृता अग्रहरी र डा. सुरेन्द्र यादव पनि छन् । सुरेन्द्र यादवले विगतमा समाजवादी पार्टीलाई फुटबाट बचाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।



प्रतिक्रिया दिनुहोस्