काठामाडौं, २ असोज । नेपाली काँग्रसका सभापति शेरबहादुर देउवा गत साउन २९ गते प्रधानमन्त्री भएपछि आजसम्म गरेका प्रमुख कामहरु सार्वजनिक गरिएको छ । सरकार गठन भएको २ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको आरोप खेपीरहेका प्रधानमन्त्री देउवाले आफु नेतृत्वको सरकारले गरेका १५ महत्वपूर्ण कामहरु सार्वजनिक गरेका हुन् ।
सरकारले कोरोना महामारी नियन्त्रणलाई उच्च प्रथिमत्कता दिएको बताएको छ । साथै, सरकारले विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति गर्नुलाई योग्यता र अनुभवको आधारमा व्यक्तिलाई सही जिम्मेवारी दिइएको दाबी गरेको छ ।
त्यसैगरी खोप केन्द्रको चुस्त व्यवस्थापन गरि एकैदिन ३ लाखलाई खोप दिन सफल भएको कुरालाई पनि सरकारले प्रमुख कामको रुपमा उल्लेख गरेको छ । साथै, क्यान्सर, मृगौला र स्स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गर्नु र अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाका दरले राहत दिएको समेत सरकारले आफ्ना मुख्य काममा राखेको छ ।
यी हुन् सरकारले गरेका १५ महत्वपूर्ण कामहरु:
कोरोना महामारी नियन्त्रणलाई उच्च प्रथमिकता
योग्य र अनुभवी व्यक्तिलाई सही जिम्मेवारी दिने नीति अनुरुप विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति
खोप केन्द्रको चुस्त व्यवस्थापन र एकैदिन तीनलाखलाई खोप दिन सफलता
१८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो
बाढी, पहिरो र डुबान पीडितको युद्धस्तरमा उदार तथा राहत र पुनस्थापना
कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेज
कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब बृद्धि
क्यान्सर, मृगौला र स्स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता
अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाका दरले राहात
राजधानीका दश ठाँउमा सस्तोमा भोजनको व्यवस्था
विद्यार्थी लक्षित पढ्दै कमाउँदै र महिला लक्षित महिला पहिला कार्यक्रम
भुमि आयोगको गठन
एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल
प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद
त्रिचन्द्र कलेज र घण्टाघर पुननिर्माणको निर्णय