काठमाडौं, असोज ७ । नेकपा (एकीकृत समाजवादी) का तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकले पार्टीको महासचिव तोक्ने भएको छ । अहिले पार्टीभित्र डा वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा विजयकुमार पौडेल आदि महासचिवका आकांक्षी छन् ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले वरिष्ठता र सबै कमरेडलाई स्वीकार्य हुने व्यक्ति नै महासचिवको दाबेदार हुने पनि बताए । नेता ज्वालाले भने, ‘जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्ताव समूहगत छलफल गरी सुझावसहित पारित भएको छ । आज संगठानिक प्रस्तावमा छलफल हुन्छ । केन्द्रीय समिति विस्तार, कार्यविभाजन र कार्ययोजनाबारे निर्णय गरी बैठक समापन हुनेछ । आजकै बैठकमा पार्टी अध्यक्षको प्रस्तावमा महासचिव, स्थायी समिति, पोलिटब्युरोको टुंगो लाग्छ ।’
ज्वालाका अनुसार एकीकृत समाजवादीको केन्द्रीय कमिटी २५१ जना हुनेछ भने त्यसको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी समिति बन्नेछ । ज्वालाले भने, ‘त्यसलाई समावेशी बनाउनुपर्ने चुनौती छ । आठौं र नवौं महाधिवेशनलाई पनि मापदण्डमा समेटेका छौं । तर हामीबीच महासचिवबारे कुनै वादविवाद र उछिनपाछिन छैन, हार्दिक एकता छ । पार्टीले आवश्यक ठान्दा जो बन्दा पनि हुन्छ । तर व्यक्तिका बारेमा लोकतान्त्रिक ढंगको लामो छलफल भएको छैन ।’
नेता ज्वालाले सैद्धान्तिक र वैचारिक विमतिलाई लिएर गरिने गालीगलौज जसले गरे पनि त्यो बेठीक हुने बताए ।