काठमाडौँ, ११ असोज। आजबाट बडादसैं लगायतका चाडपर्वका लागि काठमाडौँ बाहिरका यात्रुका लागि अग्रिम ‘टिकट बुकिङ’ खुला गरिएको छ । बुकिङका लागि विभिन्न काउन्टरहरु तोकिएको छ ।
कोभिड–१९ को महामारीको समयमा सकेसम सम्बन्धित बसको टिकट काउन्टरमा नगई अनलाइनबाट टिकट बुकिङ गर्न मिल्ने व्यवस्था गरिएको छ । गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’समेत थप गरिएको छ ।
सरकारले दसैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै ‘टिकट काउन्टर’ थप गरिएको हो । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले अग्रिम टिकट बुकिङ बिहान ७ बजेदेखि सुरु गरिएको बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।
रुट इजाजत खुला
सरकारले सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गरेको छ । दसैंको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।
यस अवधिमा मुलुकको जुनसुकै ‘रुट’ मा पनि सार्वजनिक सवारीसाधन चलाउन पाइने उनले स्पष्ट पारे ।