एजेन्सी, १४ असोज। अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँका पूर्व उप-राष्ट्रपति अमरुल्ला सालेहले निर्वासित सरकार गठन गरेका छन्। स्विट्जरल्याण्डबाट सालेहले आफुलाई निर्वासित सरकारको कार्यवाहक राष्ट्रपति घोषणा गरेका जनाइएको छ ।
अफगानीस्तानको खामा समाचार एजेन्सीसँग कुरा गर्दै उनले भने ‘मैले निर्वासित सरकार गठन गरेको छु। यो सरकार नै कानुनी रुपमा अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुने सरकार हुनेछ।’
अन्तरिम सरकार गठनका विषयमा त्यहीँबाट सालेहले कुटनीतिक सम्बन्ध स्थापित अधिकांश देशहरुलाई इमेलमार्फत् सुचित गरिसकेको जनाइएको छ । ‘तालिवानले अफगानिस्तानमा गठन गरेको सरकार अन्तर्राष्ट्रिय कानुनका आधारमा वैध छैन र अफगानी नागरिकको प्रतिनिधित्व पनि छैन,’ जारी इमेलमा उल्लेख गरिएको छ। तालिवानले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।-Photo: Agency