Logo

अढाई करोडका पत्रु बिक्री



गाईघाट, असोज १६। उदयपुर सिमेन्ट उद्योगले करिब अढाई करोड रुपियाँका पत्रु सामान बेचेको छ । उद्योगले लामो समयदेखि प्रयोगविहीन विभिन्न उपकरण खुला प्रतिस्पर्धाका आधारमा डाक बढाबढ गरेर लिलामी प्रक्रियाबाट बिक्री गरेको हो ।

उद्योग स्थापनाका क्रममा जापान सरकारले अनुदानस्वरूप उपलब्ध गराएको ती उपकरण प्रयोग पनि नगरिएको र बिक्री पनि नगरिँदा त्यसै सडेर जान लागेको र यसबाट उद्योगलाई निकै ठूलो नोक्सानी भइरहेकोे भन्ने विषयमा गोरखापत्रले यसअघि समाचार प्रकाशन गरेको थियो । त्यसैको प्रभाव अहिले उद्योग दुई करोड ४१ लाखभन्दा बढी रकममा ती सामग्री बिक्री भएको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए ।

उनका अनुसार मेसिन, औजार, उपकरण र सवारी साधनबाहेकका ५३ वटा प्रकारका पत्रु सामानका लागि प्रयास सलुसन एन्ड विल्डर्स सिनामङ्गल काठमाडौँले भ्याटबाहेक दुई करोड ४१ लाखमा लिलाम ठेक्का सम्झौता गरेको हो ।
यसबाहेक औजार उपकरण तथा सवारीसाधनको हकमा मेकानिकल इन्जिनियरहरूको कमिटीले अध्ययन गरी मूल्याङ्कन गरेर प्रतिवेदन दिएपछि मात्रै लिलामी प्रक्रिया अगाडि बढाइने उनले बताए ।

खुला आकाशमुनि जथाभावी एवं छरपस्ट राखिएका कारण कतिपय उपकरणका महत्त्वपूर्ण पार्टपुर्जा चोरी भइसकेका छन् भने कतिपय खिया लागेर काम नलाग्ने अवस्थामा छन् । यस उद्योगको व्यवस्थापनले पहिलोपल्ट यसरी विधि र प्रक्रिया पूरा गरेर पुराना तथा पत्रु सामान बेचेको हो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्