काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । उनले अहिलेको परिस्थितिसँग जुध्न पनि अध्यक्ष ओलीले नै निर्णायक भूमिका खेलेको भन्दै पार्टीमा ओलीको विकल्प नभएको बताएका छन् ।
आज (शनिबार) राति ९ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी आम निर्वाचनपछि पनि ओली नै देशको प्रधानमन्त्री हुने पनि दाबी गरेका छन् । पार्टीको दशौं महाधिवेशनमा अध्यक्षमा ओली निर्विकल्प भएको र आउने निर्वाचनमा नै ओलाई प्रधानमन्त्रीको रुपमा अघि सारिने उनको भनाई छ ।
उनले समकालिन राजनीतिमा ओलीजति लोकप्रिय र प्रभावशाली नेता अरु कोही नभएको पनि टिप्पणी गरे । उनले एमालेलाई विभाजन गरेर सिध्याउने प्रयास भएपनि त्यसलाई परास्त गर्न ओलीले नै निर्णायक भूमिका खेलेको र अहिले पार्टीमा फुटको प्रभाव नपरेको पनि सुनाए । उनले ओलीलाई देश र जनताप्रति ईमानदार भएर खट्नसक्ने नेता र विकासको भीजन भएको नेताको संज्ञा पनि दिए ।