Logo

झाँक्रीको छलाङसँगै लुम्बिनीका नेतामाथि थपिदै राजनीतिक चुनौती



काठमाडौं, १७ असोज । राजनीतिमा जस्ले जोखिम मोल्छ उही छलाङ मार्छ या पछारिन्छ । रामुकमारी झाँक्रीको विषयमा पनि यही सावित हुन्छ ।

झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा चर्को आलोचना गरिन् । एमालेमै रहँदा उनी ओलीका कटु आलोचक देखिइन् । चुनौती दिइन् । उनलाई ओली सरकारले पक्राउ समेत गरेको थियो । यो घटनाले उनलाई चर्चाको चुलीमा पुर्याएको थियो ।

झाँक्रीले एमाले फुट्दा माधव नेपाललाई खुलेर साथ दिइन् । नेकपा एस दर्ता गर्दा माधव नेपालको हात समातेर आयोगभित्र लगेको दृश्य चर्चामा पुग्यो ।

राजनीतिमा निकै जोखिम मोलेर माधव नेपाललाई साथ दिएकी झाँक्री मन्त्री बन्ने पक्का भएको छ । उनको नाम मन्त्रीको सूचीमा नेकपा एसले राखिसकेको बुझिएको छ । सम्भवत उनी शिक्षा मन्त्री बन्नेछिन् ।

झाँक्रीले छलाङ मार्दै गर्दा उनको गृहजिल्ला गुल्मीका नेताहरुलाई भने चुनौती बढेको छ । गुल्मीमा उनी जन्मिएको मयलपोखरी गाउँ गोकर्ण बिष्ट निर्वाचित भएको क्षेत्र हो । बिष्टले एमालेमै रहेर माधव नेपाललाई अन्तिम समयमा साथ नदिने निर्णय लिएका थिए ।

गुल्मीकै अर्का प्रभावशाली नेता हुन् प्रदीप ज्ञवाली । उनी ओलीका विश्वासपात्र मानिन्छन् । ज्ञवालीका लागि पनि भविष्यमा झाँक्री चुनौती बन्न सक्छिन् ।

गुल्मीको छिमेकी जिल्ला पाल्पामा पनि प्रभावशाली नेताहरु छन् । जसमध्ये अनेरास्ववियूका पूर्व अध्यक्ष ठाकुर गैरे हुन् । अब लुम्बिनी प्रदेश केन्द्र बनाएर राजनीतिक शक्ति बढाइरहेका गोकर्ण बिष्ट, प्रदीप ज्ञवाली र ठाकुर गैरेमात्र नभई विष्णु पौडेल जस्ता हस्तीहरुका लागि पनि भविष्यमा झाँक्री चुनौती बन्न सक्छिन् । उनको लोकप्रीय छवि र जोखिम मोल्न सक्ने सामथ्र्यले जुन छलाङ प्राप्त हुँदैछ त्यसले लुम्बिनीबाट उनलाई स्थापित गर्ने सम्भावना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्