काठमाडौं, २० असोज । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि सहज जित निकालेको छ । दुवई स्थित सारजाह रंगशालामा मंगलबार भएको खेलमा मुम्बईले राजस्थानलाई ८ विकेटले हराएको हो ।
राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा इशान किशान अविजित रहदै सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कप्तान रोहित शर्माले २२ रन जोड्दा सूर्यकुमार यादवले १३ रन जोडे । साथै, हार्दिक पाण्डयले अविजित ५ रन बनाए ।
राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले समान १/१ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन बनाए । डाभिड मिलरले १५ रन जोडे भने यासभी जैसवाल र राहुल टेवाटियाले समान १२/१२ रन जोडे ।
मुम्बईका नाथन कल्टर निलले सर्वाधिक ४ विकेट लिए । जेम्स निशमले ३ र जस्प्रित बुम्राहले २ विकेट लिए । मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । यस्तै, राजस्थान भने १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।