Logo

अझै १४ महिना संसद् चलाउनुको विकल्प छैनः सचेतक भुसाल



काठमाडौं, १  कात्तिक । नेपाली कांग्रेसको संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रतिनिधिसभाको कार्यकाल अझै १४ महिना बाँकी रहेकाले संसद् चलाउनुको विकल्प नभएको बताएकी छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचेतक भुसालले भनिन्, “प्रमुख प्रतिपक्षको हठ र अकर्मण्यताका कारण सदनको समय खेर गयो ।

अहिले प्रधानमन्त्रीसँग वन टु वन कुराकानी गर्न खोज्नुलाई स्वागतयोग्य नै भन्नुपर्छ । किनभने यो पनि संवादको प्रक्रिया हो । अहिलेको सबभन्दा प्रमुख एजेन्डा संविधान र संसद् नै हो ।” जनजीविका, बजेट कार्यान्वयन, कोभिड खोप लगायतका अर्थतन्त्र, विकास, जनताको स्वास्थ्य जोडिएका कुरा संसद्मा छलफल आवश्यक रहेको उनले बताइन् । उनले थपिन्, “विगतको सरकार प्रमुख प्रतिपक्षी दललाई उपेक्षा गरेर अघि बढेको थियो ।

संसदीय अभ्यासलाई अघि बढाउन सत्तापक्षले प्रमुख प्रतिपक्षसँग कुराकानी अघि बढाउनैपर्छ । हामीले यत्रो कानुनी संघर्ष गरेर पुनःस्थापना गरेको संसद्लाई पूर्ण कार्यकाल चलाउने हो भने अझै १४ महिना बाँकी छ । संसद्लाई बन्धक बनाएर संसदीय व्यवस्था चल्दैन ।” संसद् चल्न नदिइँदा हरेक कुरामा बाहिर विवाद हुने गरेको उनले बताइन् ।

उनले भनिन्, “संसद् नचलेका कारण हरेक विवाद बाहिर आयो । खासमा छलफल गर्ने ठाउँ संसद् हो । प्रश्न गर्ने, जवाफ दिने ठाउँ हो । संविधानको अपव्याख्या र अपहेलना, गलत प्रचारबाजी गरी हरेक कुरालाई राजनीतिकरण गर्दै जाँदा अनेक अविश्वास जन्मेको छ । यसले गलत नजिर बस्छ । यसले अन्ततोगत्वा लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर गराउँछ ।”



प्रतिक्रिया दिनुहोस्