Logo

सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला



काठमाडौँ, ४ कात्तिक: सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एकसय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को शेयर बिक्री खुल्ला गरेको हो ।

निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको छ लाख ७८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आजदेखि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले यही कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए कात्तिक १८ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माइखोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणको कूल अनुमानित लागत रु दुई अर्ब हुने र प्रतिमेगावाट लागत रु २१ करोड तीन लाख पाँचहजार हुने जनाइएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आईआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्