Logo

ओलीलाई गगन थापाको कटाक्ष: एउटा सन्काहा शासकलाई ‘गिनिज बुक’मा नाम लेखाउने रहर चढ्दा ३ वर्ष खेर गयो



काठमाडौँ, ५ कात्तिक। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री गगन थापाले एउटा सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा ३ वर्ष खेर गएको टिप्पणी गरेका छन्। नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको कार्यक्रममा पूर्व-प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सांसद थापाले भने, २०६२ सालमा आन्दोलन भयो । त्यसमा हामी सहभागी भएर आएका छौं । १०-१२ वर्ष राजनीतिक संक्रमणको चरणमा गयो । व्यवस्थापनमा गयो । २०७४ सालमा चुनाव भयो । हामी हार्‍यौं । एउटा राजनीतिक दल चुनाव कहिले जित्छ कहिले हार्छ कुनै ठूलो कुरा भएन । तर, लामो समयको अनुभव पछाडि संविधान ल्याएर नयाँ चरणमा प्रवेश गर्‍यौं भनेपछि फेरि नेपालले अर्को मौका पाएको फेरि २०७४ सालबाट एउटा सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा तीन वर्ष खेर गयो ।’

सरकारको नेतृत्व गरेको बेला आफूले अभूतपूर्व काम गरेको अभिव्यक्ति केही दिन पहिले ओलीले अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, एकैचोटि हामीले ३९६ वटा अस्पतालको एकैदिन एकैपटक शिलान्यास गरेका छौँ । विश्व रेकर्ड हो यो । गिनिज बुकमा यस्ता त कति लेखे हुन्छ हामीले त दाबी नगरेर मात्र हो । गिनिज बुक आधा त हामीले गरेका कामले भरिन्छ । हामी यस्तो ज्याद्रो मान्छे हौँ, दुई पटक किड्नी फेरेको प्रधानमन्त्री नेपालमा बाहेक कहीँ पाइँदैन । यहीँबाट थाहा पाउनुहोस् न कहीँ पाइँदै पाइँदैन । दुई पटक किड्नी फेरेर पनि उस्ताको उस्तै हुने दुनियाँमा सायद यहीँ हुन्छ । यो एमाले हो के ।’ ओलीको यो अभिव्यक्तिलाई लिएर थापाले कटाक्ष गरेका हुन् ।-तस्बिर: मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल 



प्रतिक्रिया दिनुहोस्