काठमाडौं, कात्तिक ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी सावदले प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका बाढीपीडित जनतालाई नभेटेको भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सावदले भने, “बाढी र भूस्खलनले सदूरपश्चिममा धेरै धनजनको क्षति भएपछि प्रधानमन्त्रीले मन्त्रीहरुको टोलीसहित बझाङ, बैतडी, डोटी, डडेल्धुरामा पुगेर अवलोकन गर्नुभएको हो ।
सुदूरपश्चिममा लगभग ४० ५० प्रतिशत धानबालीमा क्षति पुगेको छ । उहाँले पीडित जनतालाई भेट्नुभो, अन्तक्र्रिया गर्नुभयो, जनताको बीचमा सम्बोधन गर्नुभयो, उद्धार, राहत र क्षतिपूर्तिको प्रतिबद्धता गर्नुभयो । तर भीर र पहिरो क्षेत्र भएकाले बझाङको फलारा भन्ने ठाउँमा दुई चोटिसम्म हेलिकोप्टर अवतरण हुन सकेन । बैतडीको ढुंगाडमा अनेक कोसिस गर्दा पनि अवतरण गर्न सकिएन । त्यसका आधारमा धारणा बनाउनु गलत हो ।”
नेता सावदले प्रधानमन्त्रीले दुई ठाउँ जान नसके पनि अन्य ठाउँमा पर्याप्त भेटघाट गरेको बताए । उनले थपे, “बझाङको चैनपुर, डोटीको दिपालयलमा प्रशासनिक ब्रिफिङ लिनुभयो । जोगबुढामा आमसभालाई सम्बोधन गर्नुभयो । कञ्चनपुरको दोधारा चाँदनी, कैलाली धनगढी, सूरिया, जानकी, खैरीघाट, टीकापुर, बर्दियाको राजापुर पुग्नुका साथै कतिपय ठाउँमा हवाई सर्वेक्षण गरेर प्रधानमन्त्रीले नआत्तिनोस्, जनताको साथमा सरकार छ भन्ने प्रत्याभूति गराउनुभएको छ । बाढीपीडितका लागि अल्पकालीन र दीर्घकालीन राहत प्याकेज ल्याउने कुरा गर्नुभएको छ । यो प्राकृतिक प्रकोपलाई राजनीतिकरण गर्नु गलत हो ।”
उनले प्रधानमन्त्रीले कांग्रेस कार्यकर्तालाई मात्र राहत बाँडेको र पूर्वलाई बेवास्ता गरेको भन्ने असत्य भएको बताए । उनले थपे, “अहिले कसैलाई राहत बाँडिएको छैन । राहतलाई ज्यादा प्रभावकारी बनाउनुपर्छ भन्ने जनआवाज छ । प्रधानमन्त्री सदूरपश्चिम जानुभयो, पूर्व जानुभएन भन्ने कुरा पनि गलत हो । पाँचथरमा भएको मानवीय क्षतिको बारेमा पनि उहाँले बोल्नुभएको छ । मृतक परिवारलाई राहत र क्षतिपूर्ति दिने कुरा पनि गर्नुभएको छ । उहाँ प्रदेश १ मा पनि जान सक्नुहुन्छ ।”
नेता सावदले एमसीसीलाई कम्युनिस्टहरुले राजनीतिक मुद्दा बनाउन खोजेको बताए । उनले भने, “एमसीसी विकास अनुदान हो । यसका बारेमा कन्फ्युजन हुने अवस्था छैन । संसदबाट पारित गर्ने भनेकाले यो कानुनभन्दा माथि छैन । एमसीसीको बहसलाई राजनीतिकरण गर्ने र एन्टी अमेरिकन प्वाइन्ट अफ भ्यूले हेर्नुभन्दा राष्ट्रिय हितमा छ कि छैन भनेर हेरिनुपर्छ । तर पास गर्ने कि नगर्ने गठबन्धनको पनि कुरा हो ।”
राष्ट्रिय सहमति भयो भने अर्ली इलेक्सन हुन सक्ने उनको भनाइ छ । उनले भने, “अर्ली इलेक्सनका बारेमा दलहरुले राजनीतिक दबाब मात्र दिएका हुन् कि इमानदारीपूर्वक भनेका हुन्, त्यसले फरक पर्छ । तर सभापति प्रधानमन्त्री चुनावबाट नभाग्ने कुरा बताइसक्नुभएको छ । सरकारमा भएका गठबन्धन दलहरुबीच सहमति भयो भने शीघ्र चुनाव हुन सक्छ । तर त्यसका लागि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका लागि प्रयत्न गर्नुपर्छ ।”
उनले पार्टीको महाधिवेशन र निर्वाचन सँगसँगै हुन नसक्ने बताए । शीघ्र चुनाव हुने भयो भने महाधिवेशन हुन नसक्ने उनको भनाइ थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमरशेर राणालाई महाभियोग लगाउने कांग्रेसको कुनै योजना नभएको पनि उनले बताए । उनले भने, “प्रधानन्यायाधीशलाई हटाउने र बचाउने कुरा अहिले हुन सक्दैन । संविधानमा महाभियोगजस्ता निश्चित कानुनी प्रबन्ध छन् । तर न्यायालयलाई विवादको विषय बनाउनु हुन्न ।”