काठमाडौं, ८ कात्तिक । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले डाकेको फूलकोर्ट बैठक बहिष्कार गरेका न्यायाधीशहरुले छुट्टै छलफल गरेका छन् । तर, जबरामाथि दबाब बढाउन चालिएको कदममा न्यायाधीशहरु नै विभाजित भएका छन् ।
फूलकोर्ट बहिष्कार गरेका भनिएका केही न्यायाधीश आज बिदामा बसेका छन् । न्यायाधीश कुमार चुँडाल र नहकुल सुवेदी बिदामा बसेका छन् । उनीहरु फूलकोर्ट बहिष्कार गर्ने न्यायाधीशका रुपमा लिइएका थिए । दुवै न्यायाधीशको बिदालाई अर्थपूर्ण मानिएको छ ।
अर्का न्यायाधीश तेजबहादुर केसी पनि बिदामा बसेका छन् । दुईजना न्यायाधीश आन्तरिक पर्यटक बनेर घुमफिरमा निस्किएका छन् । न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा खप्तडतिर छन् । सर्वोच्चमा लफडा निस्किन लाग्दा नै उनीहरु निस्किएका हुन् ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिकामा छन् । उनी पूर्वनिर्धारित भ्रमणमा अमेरिका निस्किएका हुन् ।
प्रधानन्यायाधीश जबरामाथि दबाब बढाउन लागेका न्यायाधीशहरुमा दोस्रो वरियताका दिपककुमार कार्की, तेस्रो वरियताका मीरा खड्कालगायत छन् । विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेका केही न्यायाधीश पनि जबराले डाकेको फूलकोर्ट बहिष्कारमा देखिएका छन् ।