Logo

महाधिवेशनको मुखमा काँग्रेस नेताहरुको भारत दौड



काठमाडौं, ८ कात्तिक । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा नेताहरुको भारत दौडधूप बढेको छ । उनीहरु विभिन्न बहानामा भारत पुगेर राजनीतिक भेटघाट बढाउन थालेका छन् ।

सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र डा. प्रकाशशरण महत दशैं अगाडि भारत पुगेर फर्किए । सहमहामन्त्री महत भारतको सत्तारुढ भारतीय जनता पार्टीको निम्तोमा भारत पुगेका थिए । त्यहाँ उनले राजनीतिक भेटघाटहरु गरेका थिए । भाजपा अध्यक्ष जेपी नड्डा देखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सम्मलाई भेटे ।

देउवाको सन्देश लिएर महत पुगेका थिए । भाजपासँग काँग्रेसले औपचारिक सम्बन्ध सुदृढ पार्न भ्रमण भएको भनिएपनि महाधिवेशन अघि भएको भ्रमण अर्थपूर्ण थियो । काँग्रेसभित्र भारतको साथ पाउने प्रतिष्पर्धा नै चलिरहेको छ ।

देउवा प्रधानमन्त्री नहुँदै आरजु देउवाले अनौपचारिक रुपमा भारत भ्रमण गरेकी थिइन् । उनले पनि भारतीय पक्षसँग सम्बन्ध बढाउने गतिविधि गर्दै आएकी छिन् । भाजपाको साथ लिन आरजु देउवाले विभिन्न धार्मिक कार्य गरेर देखाउँदै आएकी छिन् ।

काँग्रेसभित्र देउवाइतर समूहका नेता महामन्त्री डा. सशांक कोइराला पनि भारत पुगेका छन् । उनी संखुवासभाका जिल्ला सभापति दिपक खड्कालाई लिएर भारत गएका हुन् । सशांकले पनि भारतको साथ लिने प्रयास गरिरहेका छन् । उनी सभापतिका दाबेदार हुन् ।

सभापतिका अर्का दाबेदार विमलेन्द्र निधि पनि भारत गएर फर्किए । उनी फरक तरिकाले भारत पुगेर फर्किएका थिए । त्यहाँ राजनीतिक भेटघाट पनि गरे ।

काँग्रेसभित्र केही नेताहरुको भारत दौड अझै चल्ने बुझिएको छ । सभापतिका दाबेदार नेता देखि पदाधिकारी पदमा उम्मेदवार बन्न लागेकाहरु समेत विभिन्न बहानामा भारत जाने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्