Logo

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनेबारे सत्तारुढ गठबन्धनमा कुनै छलफल भएको छैन्’ : रमेश लेखक



काठमाडौं, ९ कात्तिक । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउनेबारे  सत्तारुढ दल बीचमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । नेता लेखकले भने, ‘न्यायालय स्वतन्त्र हुनपर्छ । तर, एउटा कुरा उठेपछि त्यसको सत्यता नबुझेर राजीनामा माग्नु उचित होइन, सत्तारुढ दलमा महाअभियोगको बारेमा छलफल भएको छैन्’ ।

प्रधानन्यायाधीशकै कारणले गजेन्द्र हमाल मन्त्री बनेको भने कुरा पुष्टि भएको हो त ? भन्दै उनले प्रश्न समेत गरे । उनले हमाल नेपाली कांग्रेसको पूरानो नेता भएकोले मन्त्री बनाईएको र यसमा प्रधानन्यायाधीश जबराको कुनै हात नरहेको पनि स्पष्ट पारेका छन् ।

साथै, सुदूरपश्चिममा बाढी÷पहिरोले पुर्याएको क्षतिको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले गम्भिरतापूर्वक चासो र चिन्ता लिएको बताउदै सरकारले सबैभन्दा पहिला गर्नुपर्ने उद्धारको काम गरेको र राहतको लागि तथ्यांक संकलन गर्ने काम गरिरहेको जनाए ।

यस्तै, नेपाली काँग्रेसको महाधिवेशन गर्ने विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले चासो देखाइरहेको उनको भनाई छ । ‘अधिकाशं जिल्लामा वडा अधिवेशन भइसकेको छ, केही जिल्लामा बाँकी छ, अब ती जिल्लामा पनि चाँडै गर्नपर्छ, त्यसपछि ७७ जिल्लाहरुको प्रदेश, प्रतिनिधिसभा र जिल्लाको अधिवेशन सम्पन्न गर्न सक्छौं’–उनले भने । लेखकले आफुहरु मंसिरमै महाधिवेशन गर्ने प्रयासमा रहेको समेत विश्वास दिलाए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्