Logo

लाइसेन्सका लागि एकैदिन नौ लाखले देखाए चासो



काठमाडौं, कार्तिक १० । यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स्) को आवेदन खुला गरेको छ । ६ महिना अघिबाट महामारीको कारण देखाउँदै स्थगित स्मार्ट लाइसेन्सको परीक्षा नयाँ व्यवस्थाअनुसार हुने भएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले आवेदन खुलाएको एकैदिनमा ९ लाखभन्दा बढीले आवेदनका लागि वेभसाइट आबद्ध भएको बताए। उनका अनुसार लामो समय आवेदन रोकिएका कारण एकैपटक लाखौंले आवेदन दिन लागेका हुन् ।

सकेसम्म ट्रायल परीक्षालाई सहज बनाउने गरी विभागले काम गरिरहेको बताउँदै भुसालले आवेदन दिएकाहरुले धेरै समय कुर्न नपर्ने गरी व्यवस्थापन गर्न लागिएको जनाए । विभागले गत भदौ ३० गतेबाट देशभरका २१ वटा यायातात कार्यालयमार्फत दैनिक ५ हजार नयाँ चालकको ट्रायल परीक्षा लिँदै आएको छ ।

नयाँ व्यवस्थाअनुसार आवेदन प्रणाली खुला भएको र अब नियमितरूपमा फारम भर्न सकिने उनको भनाई छ । उनले भने, ‘पहिले आवेदन दिएकालाई पहिलो प्राथमिकता दिएर नयाँ आवेदन दिएकाहरुको क्रमशः परीक्षा लिइने छ ।

प्रवक्ता भुसालका अनुसार नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । नयाँ व्यवस्थाअनुसार लिखित परीक्षामा अब ४–४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ भने ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्थाअनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्ने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्