Logo

 प्रचण्डद्वारा जनयुद्धका महान् सहिदका परिवारजनसँग भेट



चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो जनयुद्धका क्रममा सहादत प्राप्त गरेका चितवनका महान् सहिदहरुका परिवारजनसँग भेटघाट र छलफल गरेका छन् ।

महान् सहिद शारदा श्रेष्ठको घर भरतपुर न.पा.–१५, फुलबारीमा भएको उक्त भेटघाटमा अध्यक्षले सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई वर्तमान सरकारले प्याकेजमार्फत राहतको व्यवस्था गर्ने तयारी गरेको बताए । अध्यक्षले सहिदले देखेको सपना पुरा नभएकाले त्यसका लागि आफूहरु अझै लडिरहेको बताए ।

अध्यक्षले भने, ‘म यहि क्षेत्रको जनप्रतिनिधि भएकाले यस क्षेत्रको विकास निर्माणका लागि लागि परेको छु । यसका लागि तपाईंहरुको सबैको साथ, सहयोग सहभागिताको अपेक्षा यसैगरि रहिरहने विश्वास लिएको छु ।’ अध्यक्षलाई सहिद परिवारले पार्टीलाई अझै जनमुखी बनाउन र जनताको पक्षमा अझै डटेर लाग्न सुझाब दिएका थिए ।

अध्यक्षलाई आफ्नो घरआँगनमा भेटेपछि सहिद परिवारजनहरु उत्साहित हुनुभएको सहिद परिवारजन अन्जनकुमार तिमिल्सिना ‘संघर्ष’ले बताउनुभयो । जनयुद्धका क्रममा उनका दुई/दुई जना भाइहरु शिवहरि तिमिल्सिना, रामकृष्ण तिमिल्सिनाले सहादत प्राप्त गरेका थिए । सो अवसरमा महान् सहिदहरु शारदा श्रेष्ठ, ऋषि रेग्मी, शिवहरि तिमिल्सिना, रामकृष्ण तिमिल्सिना लगायतका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्