काठमाडौं, ११ कात्तिक । सर्वोच्च अदालत राजनीतिक शक्तिहरुले एकले अर्कालाई सिध्याउने चक्रव्यूहमा परिणत भएको छ । यो चक्रव्यूहमा को को फस्ने हुन् ? को को उम्कने हुन् ? चासोको विषय बनेको छ ।
अहिले सबै किसिमका राजनीतिक टकरावहरु अदालतसम्म पुगेको छ । तारोमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा परेको छ । खास लडाईं मुख्य राजनीतिक दलका शिर्ष नेताहरुको हो ।
नेताहरुबीच विकसित द्वन्द्वको डरलाग्दो भूमरी सृजना भएको छ । एकले अर्कालाई सिध्याउने रणनीतिका साथ लागेका प्रमुख नेताहरु अहिले सर्वोच्च अदालतलाई समेत राजनीतिमा तान्दै निर्णायक लडाईंमा लागेका छन् ।
अहिलेको मुख्य लडाईं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नै हो । यो लडाईंबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले फाइदा लिन खोजेका छन् । देउवा प्रधानमन्त्री बन्न सफल भए । तत्कालीन नेकपा हुँदा चौंथो वरियतामा धकेलिएका माधवकुमार नेपाल एमाले फटाएर नेकपा एस निर्माण गरी अध्यक्ष बनेका छन् ।
तत्कालीन नेकपा हुँदा ओली र प्रचण्डबीच टकराव बढ्दै विभाजनसम्म पुग्यो । प्रचण्डसँगको द्वन्द्वका कारण प्रतिनिधि सभा विघटन गराए । तर, दुईपटकको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर अदालतले गरेको थियो ।
दोस्रोपटक संसद पुनःस्थापना गर्दा अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । ओली सत्ताबाट हटे । अध्यादेशबाट संवैधानिक निकायमा नियुक्तिको सिफारिश गर्न ओलीलाई साथ दिने जबरासँग रुष्ट भए । अर्कोतर्फ, नियुक्ति सिफारिश खारेज गर्ने प्रचण्ड र माधव नेपालहरुको चाहना देखियो । कम्युनिस्ट नेताहरुको द्वन्द्वको केन्द्र अदालत बन्यो । जहाँ एकले अर्कोलाई सिध्याउने चक्रव्यूहको रचना हुनथाल्यो ।
अर्कोतर्फ, ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा फैसला हुनेवाला छ । यसरी यावत् विषयहरु अदालतमा पुगेर अड्कियो ।
नेकपा एमाले विभाजनपूर्व १४ सांसदलाई पहिल्यै नै सांसदबाट पदमुक्त गर्ने निर्णय उक्त पार्टीबाट भएको थियो । ओलीले गराएको उक्त निर्णयलाई सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस गरेनन् । त्यसपछि ओली अदालत गएका छन् । यो मुद्दाको फैसला आफ्नो पक्षमा आओस् भन्ने ओलीको चाहना छ । प्रचण्ड फैसला ओलीको विपक्षमा आओस् भन्ने पक्षमा छन् ।
कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुबीचको लडाईंमा अदालत न्यायनिसाफको थलो भन्दा पनि राजनीतिक बदला लिने थलोका रुपमा परिणत गर्ने प्रयासहरु भएका छन् । अदालतलमो चक्रव्यूहको रचना गरिएको छ । जहाँ नेताहरु एकले अर्कोलाई सिध्याउने खेलमा लागेका छन् ।