काठमाडौं, ११ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनेबारे छलफल नै नभएको बताएका छन् । आज (बिहीबार) धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले केपी ओलीले सारा थोक बिगारेको टिप्पणी गरे ।
उनले भने,‘उहाँले न्यायपालिकामाथि अनावश्यक रुपमा लाञ्छना लगाउने काम गर्दै आउनुभयो । न्यायापालिकालाई स्वतन्त्र रुपमा भूमिका निर्वाह गर्न दिनुपर्नेमा उहाँले रिस साँध्नको लागि सबै न्यायाधीशलाई निकाल्नुपर्छ भनेर जुन ढंगले बोल्नुभएको छ, उहाँको अनुचित, हस्तक्षेपकारी, सबै सिस्टमलाई भत्काउने यो प्रवृत्तिको उपज हो । स्वतन्त्र न्यायापालिकाको मामिलामा हस्तक्षेप गर्ने होईन । उहाँले ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुमाथि गलत बोल्नुभयो ।’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनेबारे छलफल नै नभएको अध्यक्ष नेपालको भनाई छ । उनले भने,‘यो विषयमा प्रवेश नै भएको छैन् । म बाहिरको बाहिर नै छु । म पाँच दलको बैठकपनि बसेको छैन् ।’ आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम राखिने बताएका छन् । प्रतिनिधिसभा, प्रदेश सभा, स्थानीय तहमा तालमेल गरेर निर्वाचन लडिने उनको भनाई छ । अहिलेका मन्त्रीहरुले राम्रो काम गर्नुपर्ने पनि उनले सुझाव दिए । पार्टीबाट मन्त्री बनेका पाँच जनालाई नै प्रभावकारी भूमिका खेल्ल उनले आग्रह गरेका छन् । file photo