काठमाडौं, १२ कात्तिक । चोरी मुद्दामा पक्राउ परेका रानीघाट–९ वीरगञ्जका २१ वर्षीया राज सराफलाई जबरजस्ती बलात्कार मुद्दामा फसाइएको परिवारले आरोप लगाएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राजलाई प्रेमिकाको परिवारले फसाएको आरोप लगाएका हुन् ।
कार्यक्रममा बोल्दै राजका बुवा जलेश्वर सराफले छोरालाई युवतीको बाबुले फसाएको आरोप लगाए । उनले भने,‘छोराले चोरी गरेको प्रहरीले मलाई कुनै प्रमाण देखाएको छैन्, कुकुर लिएर गएको छोरा हाम्रो नियन्त्रणमा छ भनेर प्रहरीले नै जानकारी दिएको हो ।’
प्रहरीले बिनाआधार छोरालाई समातेको उनको आरोप छ । उनले युवतीको पितासँग सोध्दा तिम्रो छोरासहित मेरो घरमा ५ जना चोरी गर्न आएको र ४ जना भागे तिम्रो छोरालाई समातिएको जानकारी दिएको बताए । उनले भने,‘यो षड्यन्त्र हो, मेरो छोरालाई जबरजस्ती फसाईएको हो ।’
युवतीको मेडिकलमा लगेर चेक/जाँच गर्दा बलात्कार भएको कुनै प्रमाण फेला नपरेकोसमेत उनले जानकारी दिए । सराफले कार्यक्रममा बोल्दै आफ्नो घरमा युवती भागेर आएर परिवारले मलाई मार्न लागेको छ समेत बताएको जानकारी दिए ।
युवतीको पिता बसेको स्थानबाट आफुले दुईवटा दस्तावेज भेट्टाएको बताउँदै उनले भने,‘एउटामा ३ किलो सुनको बारेमा लेखिएको थियो र अर्कोमा युवतीको बाबुको मात्र हस्ताक्षर भएको दस्तावेज फेला परेको थियो ।’ असोज २ गते चोरी मुद्दामा रानीघाट–९ विरगंजबाट पक्राउ परेका राजलाई सुन चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।