Logo

प्रधानन्यायाधीशको राजीनामाले मात्र न्यायपालिकाको समस्या समाधान हुँदैनः बार उपाध्यक्ष



काठमाडौं, कात्तिक १३ । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको राजीनामाले मात्र न्यायपालिकाका समस्या समाधान नहुने बताएका छन् । उनले प्रधानन्यायाधीशको राजीनामाको माग गर्नुपर्ने अवस्था सत्ता गठबन्धन दलका नेताहरुका कारण आएको आरोप पनि लगाए ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बार उपाध्यक्ष भट्टराईले भने, “हामीलाई के थाहा छ भने प्रधानन्यायाधीशले राजीनामा दिने बित्तिकै हाम्रा सबै समस्या समाधान हुने होइनन् । अहिले न्यायपालिका विवादित हुनुमा सर्वोच्च अदालतका अरु पाँच जना न्यायाधीश पनि दोषी छन् ।”

उपाध्यक्ष भट्टराईले न्यायपालिकामाथि प्रश्न उठ्नुमा सत्ता गठबन्धन दलका नेताहरु पनि उत्तिकै दोषी रहेको बताए । उनले थपे, “न्यायपालिकामाथि अनावश्यक हस्तक्षेप गर्ने, न्यायपालिकालाई अकर्मण्य बनाउने र न्यायाधीशलाई पद र पदक दिएर आफ्नो अनुकूल फैसला गर्न लगाउने नेताहरु नै हुन् । अदालतलाई विवादित बनाउनेमा सत्तामा रहेका दल मुख्य जिम्मेवार छन् ।”

बारको एजेन्डामा एमाले लगायत दलहरु आउने दाबी पनि उनले गरे । उनले भने, “प्रधानन्यायाधीशको राजीनामा बारको माग हो । केपी ओलीले बारको कुरा मान्नु नमान्नु आफ्नो ठाउँमा छ । विगतलाई नियाल्ने हो भने दलका नेताहरु हाम्रो एजेन्डामा आएका प्रशस्तै दृष्टान्त छन् ।”

आन्दोलनका कार्यक्रममा बार विभाजित नभएको पनि उनले बताए । उनले थपे, “अहिलेको आन्दोलनमा बार एकमत छ । हामीले सर्वसम्मत निर्णय गरेका छौं । कसैकसैले बाहिर सडकमा असन्तुष्टि प्रकट गरेका होलान् । बारमा विभिन्न विचार आउँछन्, हामीले त्यसको सम्मान गर्नुपर्छ । कसैका असहमति भए पनि बारले निर्णय गरेपछि त्यसमा गोलबद्ध हुनुहुुन्छ ।”

अहिलेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायापालिकाको नेतृत्व गर्न सक्ने अवस्था नरहेको उपाध्यक्ष भट्टराईले बताए । उनले भने, “हामीले न्यायपालिकाको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयताका निम्ति प्रधानन्यायाधीशले पद छाड्नुपर्छ भनेका हौं । उहाँमाथि केही प्रश्न उठेकाले पदत्याग गरेर मात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि गर्न सकिन्छ । प्रधानन्यायाधीश पद सम्मानित पद हो । जनताले स्वच्छ ढंगले न्याय प्राप्त गर्न सक्छन् भन्ने विश्वास नभएसम्म पदमा उहाँ रहिरहनु उपयुक्त हुँदैन । त्यसैले उहाँले राजीनामा दिनुहुन्छ भन्ने विश्वास छ ।”

बार उपाध्यक्ष भट्टराईले सांकेतिक विरोधस्वरुप कात्तिक १४ देखि १७ सम्म कालोपट्टी बाँधेर सर्वोच्च परिसर धर्ना दिने कार्यक्रम ल्याएको र त्यसपछि पनि राजीनामा नदिए तिहारपछि सशक्त कार्यक्रम ल्याउने बताए । उनले भने, “उहाँ इजलासमा बस्नुहुन्न भनेर विनम्रतासाथ आग्रह गरेका छौं । यति गर्दा पनि राजीनामा नआए तिहारपछि थप कार्यक्रम ल्याउँछौं ।”

दुई जना कानुन व्यवसायीबीच नेपाल बारको प्रांगण भएको कुटाकुटमा बारको अभियान नजोडिने उनले दाबी गरे । उनले भने, “यो घटना बारको निर्णयको विषयलाई लिएर भएको होइन । यसलाई बारको अभियानसँग जोड्न पनि मिल्दैन । हामीले प्रधानन्यायाधीशको राजीनामा बडा संवेदनशीलताका साथ उठाएका छौं ।”



प्रतिक्रिया दिनुहोस्