काठमाडौं, १४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट प्रवेश गरेका पूर्वमन्त्री प्रभु साहलाई पार्टी छाड्न नदिन उपाय अपनाएका छन् । उनले साहलाई पार्टीमै राख्न केही माग पूरा गरिदिएका छन् ।
ओलीले साहनिकट दुई नेता कुन्दन कुशवाह र मोहम्मद समिरलाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनीहरुले शुक्रबार नै सपथ लिएका छन् ।
साहले एमाले छाड्ने चेतावनी दिदै ८ बुँदे माग राखेका थिए । उनी माओवादीमा प्रवेश गर्ने चर्चा समेत चलेको थियो । तर, ओलीले गत हप्ता घरमै डाकेर उनका केही माग पूरा गरिदिए ।
प्रभु साहको प्रदेश २ मा बलियो पकड छ । रौतहटमा उनको विशेष प्रभाव छ । रौतहट नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला पनि हो । त्यहाँ माधव नेपाललाई चुनौती दिन पनि ओलीका लागि साह महत्वपूर्ण सावित भएका छन् ।
प्रभु साहले माओवादी शान्ति प्रक्रियामा आएपछि भएका तीनवटै चुनाव रौतहटबाट जितेका छन् । उनको यही प्रभावका कारण तानातानमा परेका हुन् ।