Logo

पूर्व कानुनमन्त्रीको प्रतिप्रश्नः प्रधानन्यायाधीशको पक्ष वा विपक्षमा किन उभिने ?



काठमाडौं, कात्तिक १४ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व कानुनमन्त्री अजयशंकर नायकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्ष वा विपक्षमा उभिने भन्दा पनि संविधान र कानुन अनुसार चल्नुपर्ने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नायकले भने, “कतिपय सवालमा न्यायपालिकाका सकारात्मक र नकारात्मक पाटा छन् । संविधानको रक्षाका हिसाबले ठीक भयो, नेकपा फुटाएका हिसाबले बेठीक । तर यसमा आम धारणा समेट्ने गरी दलहरुले साझा धारणा बनाउनु उपयुक्त हुन्छ । न्यायपालिका स्वतन्त्र संस्था हो । यसमा मैले पक्ष र विपक्षमा धारणा राख्नु उचित हुन्न ।”

कार्यक्रममा नेता नायकले जनता समाजवादी पार्टी मात्र नभएर सबैलाई एकताका निम्ति प्रचण्डले आह्वान गरेको बताए । उनले थपे, “प्रचण्डले एकताको झन्डा अहिले मात्र उठाउनुभएको होइन, जनयुद्ध सुरु गर्नुअघि क्रान्तिकारीहरुलाई र खुला राजनीति आएपछि कम्युनिस्टहरुको एकता गर्नुभएकै हो । एकतामा जनताको मनोविज्ञान पनि जोडिएको हुन्छ । पहिलो संविधानसभाका बेला एकताको कुरा गर्दा एमालेले रुचाएन । त्यसपछि उसको हविगत के भयो ? जगजाहेर छ ।”

उनले प्रचण्डले एकता कुरा गर्दा नै एकता भैहाल्छ भन्ने नभएको पनि बताए । उनले थपे, “मधेसवादी दल पनि अग्रगमनकै पक्षमा छन् । मुख्य एजेन्डा पनि मिल्छ । हामीले उठाएका एजेन्डा नै बोक्नुभएको छ । हामी सबै एकढिक्का भएर जाँदा नै मुलुकलाई फाइदा हुन्छ । एकतामा खासगरी वैचारिक र सांगठनिक कुरा भने जटिल हुन्छ ।”

कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेका अध्यक्ष केपी ओली कलंक भएको पनि उनले आरोप लगाए । उनले भने, “दुई-दुई चोटि संसद् विघटन गरेर केपी कलंक गर्नुभएको छ । उहाँ घमण्डले चूर भएको व्यक्ति हो । उहाँ राष्ट्रिय एजेन्डा नबुझी व्यक्तिगत महत्त्वाकांक्षालाई प्राथमिकता दिनुभएको छ । त्यसैले केपीले बोलेका हल्का कुरामा ध्यान दिनु जरुरी छैन ।”



प्रतिक्रिया दिनुहोस्