काठमाडौं, कात्तिक १४ । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई हटाउनुपर्छ भन्दा पनि परिस्थितिको संवेदनशीलता बुझेर मार्गप्रशस्त गर्नुपर्छ भन्ने नेपाल बारको धारणा रहेको बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता दाहालले भने, “प्रधानन्यायाधीशलाई हटाउन सम्भव, असम्भव के छ भन्ने भविष्यवाणी गर्न सकिँदैन । तर बारले राखेका सुधारका मागको उहाँले यथोचित् सम्बोधन गर्नुभएन । बेन्चका आकांक्षा पनि सम्बोधन गर्नुभएन । उहाँ जहिल्यै हुन्छ भन्ने, काम नगर्ने । विश्वासको संकट आएकाले पनि मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो माग हो ।”
प्रधानन्यायाधीश राणालाई हटाउनुमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नजोडिएको दाहालले जिकिर गरे । उनले भने, “चोलेन्द्र श्रीमान्लाई हटाई दीपक कार्कीलाई ल्याएर म बबुरो हरिहर दाहाललाई के फाइदा ? मेरो कुनै स्वार्थप्रेरित सम्बन्ध छैन । कसैलाई न्यायाधीश बनाउनु पनि छैन । मैले कुनै प्रधानन्यायाधीशसँग दोहोरो वार्ता पनि गरेको छैन । निवासमा गएर भेटेको पनि छैन । अहिलेसम्म कुनै माइकालालले हरिहर दाहालले सेटिङ गरेको भन्न सक्दैन ।”
बेन्च–बार समन्वय समितिमा आफूलाई बारले नै पठाएको भन्दै उनले आफू जुनसुकै बेला राजीनामा दिन तयार रहेको बताए । उनले थपे, “जसले जे काम जानेको हुन्छ, अरुलाई त्यस्तै गरी दोषारोपण गर्छ । शम्भु थापा र मलाई बार कोषाध्यक्ष रुद्र पोखरेलसहितको बैठकले समितिमा पठाएको हो । हामीले राखिदिनुस् हजुर भनेर दरखास्त हालेको पनि होइन । मैले धेरै नेगेटिभ र धेरै पोजेटिभ कुरा गर्न जानेको छैन । मेरो कसैसँग दुश्मनी छैन, गुनासो छैन । कसैको चरित्रलाई लान्छित गर्दिनँ । एमाले र माओवादी केन्द्रको फुटका कारण यस्ता कुरा आएका हुन् । मेरै कारण समस्या भएको हो भने राजीनामा दिन तयार छु ।”
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले दिएको प्रतिवेदन तदारुकतापूर्वक कार्यान्वयन नगरेकाले अहिलेको जटिलता उत्पन्न भएको पनि उनले बताए । उनले भने, “प्रधानन्यायाधीशलाई पूर्व न्यायाधीश, बहालवाला न्यायाधीश र बारले न्यायपालिकाको सुधार र स्वच्छताका निम्ति मार्गप्रशस्त गर्न भनेका छन् । यसमा अब सत्ता गठबन्धन दलका नेताहरु पनि यथोचित निकासका लागि संवेदनशील हुनैपर्छ । प्रधानन्यायाधीशले तीन वर्ष चलाइहाल्नुभयो, अब उदात्त धारणा राखेर मार्गप्रशस्त गर्नुपर्छ ।”
वरिष्ठ अधिवक्ता दाहालले नेपाल बार नागरिकका संवेदनशील मुद्दामा इजलास ठप्प गर्नुहुँदैन भनेर चिन्तित रहेको पनि बताए । उनले भने, “न्यायपालिका हाम्रो आस्थाको धरोहर हो । यसलाई सुदृढ र सक्षम बनाउनुपर्छ । संवैधानिक परिषद्लाई विपक्ष बनाइएको मुद्दा, गोलप्रथा, कार्की समितिको रिपोर्ट लागू नभएकाले विश्वासको संकट उत्पन्न भयो । यसलाई बार र बेन्चले गम्भीर रुपमा लिएका छन् । बारले अहिले जे धारणा बाहिर ल्याएको छ, त्यसै अनुसार कार्यक्रम अघि बढ्छ ।”