एजेन्सी, १४ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रोममा इसाई धर्मगुरु पोप फ्रान्सिसलाई भेटेपछि भारतभित्र र बाहिरको राजनीति तरंगित भएको छ । हिन्दुत्वमा आस्था राख्ने भाजपा नेता समेत रहेका मोदीले पोपलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।
मोदीले पोपलाई भारत भ्रमणको निम्तो पनि दिएका छन् । उनको भेटलाई राष्ट्रिय स्वयंसेवक संघ आरएसएसका महासचिव दत्तात्रय होसवलेले सरकार प्रमुखले विश्वको नागरिक प्रणालीभित्रका जोकोहीलाई भेट्न सक्ने प्रतिक्रिया दिएका छन् । होसवलेले यसलाई स्वागत गर्दै आफूहरु बसुदैव कुटुम्बकमको मान्यतामा विश्वास राख्ने भएको बताएका छन् । आफूहरुले पनि अर्को धर्मको नेताहरुलाई भेट्ने गरेको सुनाए ।
मोदीको पोपसँगको भेटलाई भारतमा इशाई धर्मालम्बीको मत आकर्षित गर्न चालिएको कदमका रुपमा विश्लेषण समेत भइरहेको छ । तर, मोदीले अन्य धर्मगुरुप्रति पनि सम्मान गर्ने सन्देश दिएका छन् ।