काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले लिएको विचार र कार्यक्रमका कारण फेरी माओवादीमाथि आकर्षण बढिरहेको बताएका छन् । विभिन्न चाडपर्वका अवशरमा काठमाडौंको किर्तिपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् । हामीले राम्रो काम गरेर पनि जनतालाई माओवादीले बुझाउन नसकेको हो ।’
उनले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभई जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताए । उनले नेता लेनिनको भनाई दोहोर्याउँदै भने,‘कम्युनिष्टहरुले परसम्म जाने सपना देख्छन् । त्यसकारण सपना देख्नु जायज हो ।’ अध्यक्षले राम्रो सपना देखेर सपना पुरा गर्नको निम्ति संघर्ष गर्नु कम्युनिष्टहरुको चरित्र र विशेषता भएको बताए। उनले भने,‘हामीले धेरै सपना देख्यौं । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पुरा भएका हुन् ।’ दाहालले आफूहरुले संविधानमा मतभेद राखेरै भएपनि जारी गरेको स्मरण गर्दै अनुकुल समयमा संविधान संशोधन गरेर जाने बताए ।
उनले भने,‘हामीले त कम्युनिष्टहरु जति सबैलाई एकतावद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने र सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको एउटा नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने भन्ने सपना देखेको हो ।’ उनले यस्तो सपना देख्नु नराम्रो नभएको बताए । त्यो सपना जायज भएको कार्यकर्ता र जनतामा आएको उर्जाले प्रमाणित गरेको अध्यक्षको भनाई थियो ।
एक अर्का प्रसंगमा उनले भने,‘अहिले फेरि माओवादी र अझ मधेशमा माओवादी प्रवेश गर्नेहरुको हजारौं हजारको लहर देखिन थालेको छ । पार्टीमा उभार आउन अझै बाँकी रहेको छ ।’ पार्टीमा उभार ल्याउनको लागि जनता कार्यकर्ता जाग्नुपर्ने उनको भनाई छ । अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको उनको भनाई थियो । भूमिहीन स्ववासीलाई लालपूर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धीत मन्त्रीलाई आवश्यक सुझाव दिएको अध्यक्ष प्रचण्डले बताए।
https://www.facebook.com/prachanda.nepal/videos/1217010112043855