मनाङ, १५ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताएकी छिन् ।
आज मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताईन्।
वातावरणीय सन्तुलन कायम राख्न वनजङ्गल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानव जातिको मुख्य भूमिका रहेको र सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्ने राष्ट्रपति भण्डारीले बताईन् ।
गत असार १ गते आएको बाढीपहिराका कारण हिमाली जिल्ला मनाङलाई तहसनहस बनाउँदा दुखित तुल्याएको उनले बताईन् । “मौसम अनुकूलताका आधारमा गरिएको खेती तथा व्यवसायले व्यक्ति र देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सहयोग पुग्ने राष्ट्रपति भण्डारीले बताईन् ।
विश्वभर जलवायु परिवर्तनले असर गरिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहेको बताउँदै राष्ट्रपति भण्डारीले यसका कारकहरुको न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरीन् ।
जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष देखिएको उनले बताईन् । जलवायु परिवर्तनले हिम रेखामाथि सर्दै गएको र यसलाई यथास्थितिमा कायमै राख्न त्यहाँ मौसम अनुकूलनका उत्पादन र प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान पु¥याउनुपर्ने देखिएको उनको भनाइ थियो । हिमाली क्षेत्रमा उत्पादन हुने वस्तु र प्राकृतिक वस्तुको संरक्षणमा यहाँका बासिन्दाले प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।
विश्वका ठूला देशहरुका कारण त्यसको असर हामीले भोग्नुपरिरहेको छ भन्दै राष्ट्रपति भण्डारीले मानव जातिकै लागि हामीहरुले पनि विश्वलाई सचेत गराइरहनुपर्ने बताईन् ।
उनले आजदेखि स्कटल्याण्डमा सुरु हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन र त्यसमा नेपालको प्रतिनिधित्वको स्मरण पनि गरिन्। यस्ता सम्मेलनमार्फत् हामीले पनि हाम्रा हिमाली बस्ती मात्र नभएर देशमा जलवायु परिवर्तनले पारेका प्रभावका बारेमा विश्वलाई जानकारी गराइरहनुपर्ने उनको धारणा थियो ।
राष्ट्रपति भण्डारी सोमबार मनाङ आएकी थिइन् । उनले मनाङमा सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन भ्रमण गरीन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रका बारेमा पनि उनले जानकारी लिएकी थिइन् । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि जानकारी लिएकी थिइन् ।
प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले सञ्चालन गर्दै आएको एग्रो मनाङ प्रालि नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म हो । त्यहाँ इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन जातका स्याउ लगाइएको छ । ७३५ रोपनी क्षेत्रफलमा उक्त फार्म सञ्चालनमा छ ।
स्थानीय सरकारका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति भण्डारीले त्यहाँको अवस्थाका बारेमा सामान्य सोधपुछ गरीन् ।-रासस