काठमाडौं, १६ कात्तिक । प्रदेश १ को तेस्रो मुख्यमन्त्री बनेका राजेन्द्रकुमार राईले राजनीतिमा छलाङ मारेका छन् । नेकपा एमालेको राजनीतिमा लामो समय लागेका राई पार्टी फुट्दा माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।
विद्यार्थी राजनीतिबाट बढेका राईलाई जुझारु नेताका रुपमा चिनिन्थ्यो । अनेरास्ववियूको अध्यक्ष भएका राई पछि पार्टी राजनीतिमा लागे ।
उनी वामपन्थी विचारधाराका विद्यार्थीको गढ मानिएको रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियू सभापति भएका थिए । राई विगतमा पनि माधव नेपालसँग निकट थिए । माधव नेपाल अप्ठ्यारोमा पर्दा जहिले साथ दिदै आएका उनी पार्टी विभाजन हुँदा साथ दिन तयार भए ।
भोजपुर प्रदेश सभा १ क बाट २०७४ सालको निर्वाचनमा विजयी भएका राई एमाले हुँदा केपी शर्मा ओली पक्षधरबाट पेलिएका थिए । भोजपुरबाट प्रदेशसभामा निर्वाचित शेरधन राई मुख्यमन्त्री हुँदा उनी मन्त्री बन्नबाट रोकिएका थिए ।
राईले चार वर्ष कुरेर राजनीतिमा जोखिम उठाउँदै आए । अन्तमा उनलाई मुख्यमन्त्री पद नै मिल्यो ।
नेकपा एमाले विभाजन हुँदा सचिव भीम आचार्य अध्यक्ष केपी शर्मा ओलीको साथमा लागे । अन्तिम समयमा आचार्यले माधव नेपालको साथ छाड्दा राजेन्द्रकुमार राईलाई अवसर आइपुगेको हो । राईले नेकपा एसको पक्षमा बढीभन्दा बढी सांसद संख्या बनाउन निकै संघर्ष गरेका थिए ।