काठमाडौं, कात्तिक १९ । हरेक वर्ष तिहारको समयमा घर पसल र व्यबसायमा झिलिमिलि बत्ती बालिन्छ जसले गर्दा विद्युतको उच्चतम माग हुने गर्छ यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग १२ सय ७० मेगावाट पुगेको छ ।
यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शुन्यमा झरेको छ ।
नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५ सय मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो ।
प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२ सय ७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११ सय २३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।
विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।
चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६ सय १४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७ सय ५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।