काठमाडौं, कात्तिक २४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छठका अवसरमा प्रदेशभरि तीन दिन बिदा दिनु औचित्यपूर्ण रहेको बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, “छठ सामाजिक सद्भाव, एकता र विश्वास बढाउने पर्व हो । तराई-मधेसमा औपचारिक रुपमा छठ आज र भोलि आस्था, विश्वास र श्रद्धाका साथ मनाइन्छ । तर संघीय सरकारले एक दिन मात्र बिदा दिन्थ्यो । छठ निराहार बस्नुपर्ने पर्व हो । पर्व सकिएपछि पनि छोरी र बहिनीकहाँ ठेकुवा र प्रसाद लैजाने चलन छ । त्यसैले यस पर्वको महत्त्व हेरेर हामीले तीन दिन बिदा दिएका हौं । यो सामान्य कुरा हो ।”
उनले छठका अवसरमा प्रदेशबासीको सुस्वास्थ्य, सुख र समृद्धिको कामना पनि गरे । उनले थपे, “म अहिले जनकपुरमा छु । पोखरी, नदी किनार झकिझकाउ छन् । चारैतिर गानाबजाना छ । छठ सूर्य उपासनाको पर्व हो । अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु हुन्छ, उदाउँदो सूर्यलाई अर्घ दिएर सकिन्छ । यसले जीवनको आरोह र अवरोहलाई पनि देखाउँछ । सूर्य भनेको शक्ति हो । यसले नै संसारलाई जीवन दिएको छ ।”
प्रदेश सरकारसँग जनताका अपेक्षा धेरै भए स्वीकार्दै उनले परिणाम दिने प्रयास गरिरहेको बताए । उनले भने, “हामीले काम गर्दै धेरै कुरा सिकेका छौं । अरु प्रदेशले गर्न नसकेका ऐन कानुन बनायौं । स्वास्थ्यविज्ञान प्रतिष्ठान, दुईदुईवटा विश्वविद्यालयको काम सुरु भएको छ । विकास निर्माण र सामाजिक रुपान्तरणका काम भएका छन्, दलित र महिलाका लागि काम गर्दैछौं । राम्रा कामको फेहरिस्त नै छ ।”