एजेन्सी, २८ कात्तिक । चिनियाँ गुप्तचरहरु विभिन्न भेषमा नेपालमा सक्रिय भएको भन्दै विअनले खबर प्रकाशित गरेको छ । उसले नेपालको सुरक्षा निकायले चिनियाँ गुप्तचरहरुको गोप्य सामाग्रीहरु पत्ता लगाएको विषय पनि उल्लेख गरेको छ ।
नाम उल्लेख नगरी एक नेपाली दैनिकले यस्तो खबर प्रकाशित गरेको भन्दै चिनियाँ गुप्तचरहरु नेपालको अरु देशहरुसँगको सम्बन्ध बिगार्न सक्रिय रहेको भनेको छ । कुटनीतिज्ञ, पत्रकार र व्यवसायीको भेषमा गुप्तचरहरु नेपालमा सक्रिय रहेको उल्लेख गरेको छ । उनीहरु चीनको रक्षा मन्त्रालयबाट परिचालित भएको समाचारमा भनिएको छ ।
५० पेज लामो गोप्य विवरणले चीन नेपालको अमेरिकासँगको सम्बन्ध बिगार्न लागिपरेको भनिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीविरुद्ध योजनावद्ध तरिकाले प्रोपोगान्डा मच्चाएर माहोल बिगार्न लागेको आरोप समेत लगाइएको छ ।
विअनले मिडिया रिपोर्ट उदृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने पक्षमा रहेको र माओवादी अध्यक्ष प्रचण्ड अवरोध खडा गरिरहेको उल्लेख छ । जसरी हुन्छ एमसीसी असफल बनाउन चिनियाँ गुप्तचरहरु लागेको मिडिया रिपोर्टबारे विअनको समाचारमा भनिएको छ ।