काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा हिजोबाट नयाँ घटनाक्रम विकास भएको छ । काँग्रेसको राजनीतिमा प्रभाव बनाउँदै आएको कोइराला परिवार एक बनाउन प्रयास बन्यो ।
महामन्त्री डा. सशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला बसेर पावर सेयरिङको विषयमा छलफल गरे । उनीहरुले संयुक्त पत्रकार सम्मेलन गरेर साझा उम्मेदवारका रुपमा शेखरलाई बढाउने कुरा पनि गरे । तर, विहान गर्ने भनिएको पत्रकार सम्मेलन भएन ।
केन्द्रीय सदस्य सुजाता कोइरालालाई सम्पर्क गरेर शेखर कोइरालाले आफूलाई सशांकले पनि साथ दिने भएकोले संयुक्त पत्रकार सम्मेलनमा आउन भने । तर, सुजाता मानिन् । विश्वस्त स्रोतका अनुसार सुजाता आफूलाई धोका भएको भन्दै रुष्ट छिन् ।
वर्तमान सरकारमा मन्त्री बनाएर सुजातालाई लाने वचन सशांक र शेखर दुवैले दिएको तर पछि धोका दिएर उल्टै पदलोलुप देखाउन खोजेको बुझाई उनमा रहेको बुझिएको छ । यथावस्थामा सुजाताले साथ नदिने जवाफ दिएको बुझिएको छ ।
देउवाइतर समूहमा प्रकाशमान सिंह सक्रिय भएपछि कोइराला परिवारका सशांक र शेखर सतर्क बनेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल ब्याक हुने अवस्था विकास हुँदै गएपछि अब कोइराला परिवारका एकजना या प्रकाशमान सिंहमध्येबाट देउवाविरुद्ध उम्मेदवार बन्ने सम्भावना बढेर गएको छ । तर, कोइराला परिवारले सिंहलाई स्वीकार्ने सम्भावना कमजोर छ ।
कोइराला परिवारका तीन नेता एक हुने सम्भावना रहेपनि पावर सेयरिङ महत्वपूर्ण बनेको छ । सशांक कोइराला र शेखर कोइरालाबीच शक्तिबाँडफाँडको भित्री सहमति भएको बुझिएको छ । तर, सुजाता आफूलाई बेवास्ता गरेर बढ्न खोजेको भन्दै रुष्ट छिन् । उनी शेखर कोइरालाको पक्षमा सकारात्मक छिन् । तर, मन्त्री बन्ने दौडमा भएको व्यवहारले सशंकित छिन् ।
देउवाइतर समूहबाट उम्मेदवारी दिदा कोइराला परिवार एक हुने सम्भावना छ । तर, देउवाले कोइराला परिवारकै कुनै सदस्यलाई महत्वपूर्ण जिम्मेवारी दिने प्रस्तावसहित तान्न सक्छन् । अर्कोतर्फ, इतर समूहका प्रकाशमान सिंहले पनि कोइराला परिवार या कुनै एक सदस्यसँग शक्तिको बाँडफाँड गरेर कुरा मिलाउने सम्भावना बढेर गएको छ ।