एजेन्सी, ७ मंसिर । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य आकाशिएपछि बढी खपत गर्ने देशहरुले नयाँ रणनीति अघि सारेका छन् । मूल्य आकाशिन नदिन पेट्रोलियम पद्धार्थ बढी खपत गर्ने देशहरु एकजुट भई संचित कच्चा तेल प्रयोगमा ल्याउन लागेका हुन् ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले रणनीतिक पेट्रोलियम संचितबाट झिक्ने घोषणा गरेका छन् । चीन, भारत, जापान र दक्षिण कोरियाले पनि संचितबाट झिकेर प्रयोगमा ल्याउने भएका हुन् ।
भारतले ८० करोड लिटर कच्चा तेल संचितीबाट झिक्ने भएको छ । यसले पेट्रोलियम पद्धार्थको बजारमा तरंग आएको छ ।
तेल उत्पादक देशहरुलाई उत्पादन बढाउन दबाब दिने उद्देश्यले अमेरिकासहितका देशहरुले संचितबाट चलाउन खोजेका हुन् । उत्पादन बढाएमा कच्चा तेलको मूल्यमा गिरावट आउनेछ ।
बढी खपत गर्ने देशहरुले संचितबाट चलाउन लागेपछि मूल्य घट्ने माहोल सृजना हुनसक्छ । यसअघि सन् २०२० मा रुस र साउदी अरेबियाबीच उत्पादन बढाउने प्रतिष्पर्धाले कच्चा तेलको मूल्य ह्वात्तै घटेको थियो ।
तेल उत्पादक देशहरुले दबाबका बाबजुद उत्पादन बढाउन मानेका छैनन् । उनीहरुले उत्पादन वृद्धि अहिलेको बजार अनुकूल नहुने तर्क गरेका छन् ।
अहिले विश्व बजारमा कच्चा तेलको मूल्य ७६ देखि ८० डलर प्रति ब्यारल छ । यो गत वर्षको तुलनामा तेब्बरभन्दा बढी हो । सन् २०२० को मध्यतिर कच्चा तेलको मूल्य गिरावट आएर प्रति ब्यारल २० डलरमा झरेको थियो ।