Logo

प्रदेश संरचनामा जाँदै कांग्रेस



काठमाडौं, मंसिर १७ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार सातै प्रदेशको अधिवेशन सुरु भएको छ। मुलुक संघीयतामा भएपछि पहिलोपटक पार्टीलाई संघीय संरचना ढाल्दै कांग्रेसले अधिवेशनको उद्घाटन गरेको हो।

प्रदेश १ बाहेक कांग्रेसको ६ वटै प्रदेशको अधिवेशन बिहीबार उद्घाटन गरिएको हो। प्रदेश १ को अधिवेशन भने शुक्रबार मात्र हुने भएको छ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट प्रदेश अधिवेशनको उद्घाटन गरेका हुन्। राजधानीमै रहेका देउवाले सुदूरपश्चिम प्रदेशको अधिवेशन काठमाडौंबाट उद्घाटन गर्नुका साथै ‘उत्साह, एकता,रूपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन१’ उल्लेख गरिएको महाधिवेशनको नयाँ लोगो पनि सार्वजनिक गरेका छन्।

तर,अन्य शीर्ष नेताहरू भने आआफ्नो प्रदेशको राजधानी पुगेर अधिवेशनमा सहभागी भएका छन्। पार्टी नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला गण्डकी प्रदेशको अधिवेशन उद्घाटन समारोहमा सहभागी हुन पोखरा पुगेका छन्।

उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को महाधिवेशन उद्घाटन गरेका छन्। वाग्मती प्रदेशको हेटौंडामा सुरु अधिवेशनको पूर्वमहामन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् भने सहमहामन्त्री प्रकाशशरण महत पनि हेटौंडा नै पुगेका छन्।

कर्णाली प्रदेशको अधिवेशन उद्घाटन महामन्त्री पूर्णबहादुर खड्काले गरेका छन्। अधिवेशनको उद्घाटन सत्रमा नबोलाएको भन्दै संस्थापन इतर समूहले उद्घाटन सत्र बहिष्कार गरेको छ। प्रदेश १ को भने बिहीबार अधिवेशन उद्घाटन हुन सकेन।

पार्टीले प्रदेश अधिवेशन गर्ने जिम्मेवारी तोकेर पठाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अधिवेशन आयोजक मोरङ जिल्ला सभापतिबीच समन्वय अभावले बिहीबार उद्घाटन हुन नसकेको हो। तर, पूर्वमहामन्त्री सिटौलाले मोरङ जिल्ला अधिवेशनको मतगणना नसकिएकाले प्रदेश अधिवेशन उद्घाटन शुक्रबार बिहानका लागि सारिएको सञ्चारकर्मीसँग दाबी गरे। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्