रोल्पा, मंसिर २० । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका अमरसिंह पुन निर्वाचित भएका छन् । पुनले सभापतिका अर्का प्रत्यासी भरतकुमार शाहलाई ८५ मतले पछि पार्दै विजयी भएका हुन्। सभापतिमा निर्वाचित पुनले ८५२ मत पाउँदा शाहको ७६७ मत आएको थियो ।
उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८४७ र राजु खनाल ७९२ मत ल्याएर विजयी भए। महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ। सहमहामन्त्रीमा विष्णु खनाल ८५९, खगराज पाण्डे ७७६ र निमा गिरी ८३० मत ल्याइ निर्वाचित भएका छन् ।
शनिबार राति १२ बजेदेखि सुरु भएको मतगणना आज बिहान मात्र सकिएको हो । प्रदेश अधिवेशनमा कुल १ हजार ६ सय ३१ मत खसेको थियो ।
सभापति पुनको राजनीतिक यात्रा
विसं २०२७ साल असार ५ गते रोल्पाको राँक गाविस (हालको गंगादेव गाउँपालिका–४) जायचौरमा जन्मेका पुन पहिलो पटक १२ औं महाधिवेशन अन्तरगत २०६७ मा जिल्ला सभापतिमा १३ मतले पराजित भएका थिए ।
१३ औं महाधिवेशन अन्तरगत २०७२ मा फराकिलो मतान्तरले जिल्ला सभापति जितेका पुन पार्टीमा प्रभाव पार्दै जिल्लामा आफ्नो पकड जमाउन सफल भएका थिए। सोही क्रममा २०७४ मा देउवा नेतृत्वको चुनावी सरकारमा पुन सिँचाई राज्यमन्त्री समेत बनेका थिए ।