काठमाडौं, २१ मंसिर । सर्वोच्च बारका अध्यक्ष तथा पूर्व महान्यायाधिवक्ता पूर्णमान शाक्य बारको आन्दोलनमा उग्र देखिएका छन् । उनले सुरुदेखि नै आक्रामक रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । खासगरी शाक्यले सर्वोच्च अदालतमा न्यायाधीश बन्ने चाहना राखेका थिए । तर, उनको योजना असफल भएपछि उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध उग्र रुपमा लागेका हुन् ।
अहिले सर्वोच्च अदालतमा रिक्त रहेको एक जना न्यायाधीशको ठाउँमा शाक्यले आँखा लगाएका छन् । प्रधानन्यायाधीश जबरापछिको रोलक्रममा रहेका न्यायाधीश दीपककुमार कार्कीले आफू प्रधानन्यायाधीश भए शाक्यलाई उक्त रिक्त ठाउँमा नियुक्त गर्ने वचन दिएको पनि अदालतनिकट उच्च स्रोतले जनाएको छ । अहिले शाक्य जबरालाई हटाएर कार्कीलाई प्रधानन्यायाधीश बनाउनेगरि बारको आन्दोलनमा उग्र रुपमा लागेका छन् ।
सर्वोच्च अदालत लयमा फर्किएको छ। अदालतमा गोलाप्रथाअनुसार पेशी तोकिएका छन् । तर, मुद्दाको सुनुवाई भने प्रभावकारी रुपमा भएका छैनन् । हड्ताली न्यायाधीशहरु नै अहिले राम्रोसँग मुद्दाको सुनुवाई नगर्ने पक्षमा पुगेका छन् ।
यसअघि बार र सर्वोच्च बारका पदाधिकारीले न्यायाधीशहरुको इजलाश/इजलाश पुगेर मुद्दाको सुनुवाई नगर्न दबाब दिएको कुरा आएको छ । अहिले बारले राजनीतिक दलहरुलाई गुहारेका छन् । आजमात्रै बार र सर्वोच्च बारका पदाधिकारी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।
एमाले अध्यक्ष ओली फकाउँदै बारका पदाधिकारी, आज भेट्दै