Logo

नेतृत्व हत्याउन नेताहरूको दिनभर दौडधूप



काठमाडौं, मंसिर २३ । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको भोलि शुक्रबारदेखि १४औं महाधिवेशनको कुम्भमेला लाग्दै छ । महाधिवेशनमा भाग लिने ४ हजार ७ सयभन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३ सय १९ जनाको नाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ ।

नेतृत्वका लागि पर्सि शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । महाधिवेशन व्यवस्थित तरिकाले सम्पन्न गर्न गठित विभिन्न उपसमिति आ–आफ्नो जिम्मेवारीका साथ कार्य गर्दै छन् । शीर्ष नेताहरु नेतृत्व दाबी गर्दै प्यानल निर्माणको गृहकार्यमा छन् । गुट–उपगुटमा रहे पनि प्यानलमा पर्ने रणनीतिका साथ नेताहरुको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

महाधिवेशनको अन्तिम तयारीमा रहेकाले देशभरबाट कांग्रेस नेताहरु राजधानी आउने क्रम जारी छ । नीतिभन्दा पनि बढी नेतृत्वमा जोड दिँदै आएका कांग्रेसका शीर्ष नेताहरुको बुधबार दिनभरको दौडधूप नेतृत्वकै विषयमा केन्द्रित रह्यो । गुट–उपगुटमा विभाजित कांग्रेस नेताहरु महाधिवेशनमा कसरी जित्ने भन्ने ध्याउन्नमै दौडधूप गरिरहेका छन् ।

कांग्रेसभित्र खास गरी वर्तमान सभापति शेरबहादुर देउवा पक्ष (जसलाई संस्थापन पक्ष पनि भनिन्छ), वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्ष छन् । पछिल्लो समय संस्थापन पक्षबाट छुट्टिएर उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबी गर्दै छुट्टै गुट निर्माण गरिरहेका छन् । कांग्रेसभित्र प्रभावशाली नेताहरुको थप उपगुट पनि छ । पार्टीभित्रको गुट उपगुट केन्द्रदेखि गाउँ तहसम्म फैलिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्