महाधिवेशन स्थल हेर्न आएका अधिकांश मानिसहरूको अनुहारमा छुट्टै उमङ्ग थियो, खुसी अनि रमाएका देखिन्थे । तर, नौ महिने दुधे छोरी पिठ्युँमा बोकेर फोहोर उठाउँदै हिँडेकी देउलाको अनुहारमा भने उमङ्ग हैन, जिम्मेवारी र बाध्यताको पिरलो देखिन्थ्यो ।
काभ्रे घर भई विगत ११ वर्षदेखि काठमाडाैं बस्दै आएकी देउला महाधिवेशन स्थलमा फोहोर उठाउन आएकी हुन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनी नौ महिने छोरी पिठ्युँमा बोकेर महाधिवेशन स्थलको फोहोर उठाउन हुन् । उनले फाेहाेर उठाएवापत दैनिक ६०० रुपैँयामा पाउँछिन् ।
‘मेरो श्रीमान् पनि फोहोर उठाउनु हुुन्छ । म पाएसम्म ज्याला मजदुुरी गर्थेँ, मेला जान्थेँ । अहिले यतिकै बसिरहेके थिएँ आमाजूले फोहोर उठाउन जाउँ भन्नुभयो । यहाँ काम गरे पैसा कमाइन्छ, त्यसैले आएँ’, उनी भन्छिन् ।
सानी छोरीको हेरचाह गर्न घरमा कोही नभएपछि बोकेरै उनी काममा आएको बताइन् । गरिबी र जिम्मेवारीको भारीले थिचेपछि पिठ्युुँमा छोरी बोकेर काम गर्दा पनि उनलाई गाह्राे महसुस भने नभएको बताउँछिन् । उनी भन्छिन्, ‘गाह्राे भएको छैन । काम गर्नै पर्याे । घरमा छोरी हेर्नेे मान्छे छैनन् । काम पाएको बेला नगरी भएन त्यसैले बोकेर आएको ।’
देउलाकी १० वर्षीया अर्की छोरी पनि छिन् । उनी काठमाडाैंकै एक विद्यालयमा कक्षा चारमा पढ्छिन् । दुई छोरीसहित देउलीको परिवारमा चारजना छन् । उनीहरूको परिवारको हात मुख फोहोर उठाएर आएको पैसाले नै जोडिन्छ । यसबाहेक उनीहरूको अन्य कुुनै आयस्रोत छैन् । उनी भन्छिन्, ‘अरुले यस्तै कार्यक्रमहरूमा फोहोर उठाउने जिम्मा लिन्छन्, बुढा त्यहीँ काम गर्नुहुन्छ । म पनि मिलेसम्म गर्छु । यसैले घरखर्च चलाइरहेका छौँ ।’
कांग्रेसको महाधिवेशन नभएको भए अहिले रुमा कोठामै बसिरहेकी हुन्थिन् । तर, महाधिवेशन भएकाले काम पाएपछि उनी दंग छिन् । ‘आज बिहान ७ बजेदेखि आएको हो । बेलुका ५ बजेसम्म काम गर्छु । कार्यक्रम नसकिएसम्म सधैँ यही काम गर्न आउने हो । दिनको ६०० रुपैँया कमाइ हुन्छ । जम्माजम्मी तीन/चार हजार कमाइन्छ होला’, उनी सुनाउँछिन् । अश्विन दानी/न्यूज कारखाना