काठमाडौं, २३ मंसिर । नेपाल बार एशोसिएशनले ७३औं विश्व मानवअधिकार दिवसको अवसरमा आयोजित मानव अधिकारसम्बन्धी राष्टिय सम्मेलन गर्ने भएको छ । स्वच्छ, स्वतन्त्र न्यायापालिका र मानव अधिकार ७३औं विश्व मानव अधिकार दिवसको अवसरमा नेपाल बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समिति भोलि कार्यक्रम गर्ने भएको छ । तर, बारले यसअघि अन्यत्र गर्न तय गरिएको कार्यक्रमलाई बारकै प्रांगणमा गर्न लागेको भनेर स्वतन्त्र कानून व्यवसायीहरुले प्रश्न उठाएका छन् ।
अधिवक्ता बसन्त बस्नेतले त सामाजिक सञ्जाल फेशबुकमार्फत आफूहरुलाई किन झुक्याईएको भन्दै आक्रोश पोखेका छन् । अहिले बारले आन्दोलन गरिरहेको छ । यो अवस्थामा बारकै परिसरमा यस्तो कार्यक्रम गरिनुले कतै बारकै आन्दोलनमा सघाउनको लागि गर्न लागिएको त होईन ? भन्ने पनि प्रश्न उठेको छ। बस्नेतले लेखेका छन्-“१ बजे बुद्ध नगरमा हुने बारको मानव अधिकार गोष्टिको लागि ११ बजे बारमा किन बोलाईयो रु कहिले सम्म झुक्याउने ?”
पछिल्लो समय बारको आन्दोलनमा अधिवक्ताहरुको सहभागिता न्यून हुँदै गएको छ। सर्वोच्च अदालतमा गोलाप्रथा लागु भएपछि अधिकांश अधिवक्ताहरु नियमित रुपमा बहस तथा पैरवीमा उत्रिएका छन् । बारका अध्यक्षलगायत नेतृत्वमा रहेका केही सिमित व्यक्तिहरुले आफ्नो निजी स्वार्थ पूरा गर्नको लागि यो आन्दोलन गरेको थाहा पाएपछि अहिले नगन्य मात्रामा अधिवक्ताहरुको सहभागिता छ ।
तर, बारले भने आन्दोलनमा सहभागीहरुको संख्या धेरै देखाउनको लागि यस्ताखाले कार्यक्रमपनि आजभोलि बारकै परिसरमा गर्न थालेको छ । भोलिको कार्यक्रमपनि बार परिसर बाहिर आयोजना गर्ने भनिएको हुँदाहुँदैपनि किन बारकै परिसरमा आयोजना गरिएको हो ? भनेर प्रश्न उठेको छ । कतै यो कार्यक्रममा आउनेहरुको उपस्थिति देखाएर बारको आन्दोलनको आकार देखाउन खोजिएको त होईन भन्नेपनि प्रश्न उठेको छ।