काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको आजबाट सुरु हुने १४औँ महाधिवेशनमा नेतृ गंगा सुनारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन् । उनले दलित महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको रिपोर्टर्स नेपाल बताइन् । आफूले पार्टीमा बसेर गरेको योगदानकै कारण पार्टीको केन्द्रीय कमिटीमा आउन लागेको बताईन् । उनले आफूले महिला, दलिति, जनजाति र ज्येष्ठ नागरिको अधिकारको लागि काम गरेको पनि बताईन् । २०६२/०६३ को जनआन्दोलनमा अग्रभागमा रहेर उनले सक्रिय भूमिका निर्वाह गरेकी थिईन् ।
‘पार्टीमा दलित महिलाहरूको प्रतिनिधित्व हुने व्यवस्था छ । मैले लामो समयदेखि दलित समुदायको हक, हित र शशक्तिकरणका लागि काम गर्दै आएकी छु । पार्टीका संगठनमा बसेर पनि काम गरिसकेकी छु,’ उनले भनिन्, ‘यो महाधिवेशनबाट पार्टीको केन्द्रीय राजनीतिमा आफूलाई उभ्याउने तयारी गरेकी छु ।’
बुढानिलकण्ठ नगरपालिका–७ की ३७ वर्षे सुनार समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातक हुन् । काठमाडौंमा नेता प्रकाशमान सिंहसँग निकट उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट दोस्रो पटक महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । उनले पार्टीको नेतृत्वमा संस्थापनईतर समूहले सर्वसम्मत् रुपमा सभापतिको उम्मेद्धवार तय गर्नेमा आफू विश्वस्त रहेको पनि सुनाईन् ।
उनी हाल काठमाडौं दलित संघकी अध्यक्ष समेत हुन् । ‘दलित समुदायको पेशा व्यवसायलाई आधुनिकीकरण, बैज्ञानिकीकरण र संस्थागत गर्नुपर्ने आवश्यकता छ, पछाडि पारिएको हाम्रो समुदायको आर्थिक, शैक्षिक, स्वास्थ्य र राजनीतिक चेतनाको विकास गराएर अघि बढाउनुपर्नेछ, मेरो उम्मेदवारी त्यसैका लागि हो,’ उनले भनिन् ।
०६२ सालमा कांग्रेसको इकाइ समिति सदस्य भएर काम गरेकी सुनार दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी भइन् । उनी दलित संघको साधारण सदस्य भएदेखि निरन्तर कार्यरत छन् । ०६० सालमा संघको जिल्ला सदस्य भएकी उनी ०६४ मा सहसचिव, ०६७ सालमा सचिव, ०७० सालमा पुनः सचिव भएर काम गरेपछि ०७४ सालमा संघको जिल्ला अध्यक्ष बनेकी हुन् ।
उनले आफू जिल्ला अध्यक्ष हुँदा पार्टीको विधानमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आन्दोलित हुनेदेखि विभिन्न गतिविधि गरेको बताइन् । उनले काठमाडौंमा पहिलो पटक ०७५ साल बैशाख २२ गते सहभोजको आयोजना गरेकी थिइन् ।
‘काठमाडौंमा पनि जातीय विभेद हटेको छैन । हामीले दलित संघको आयोजनामा त्यो बेला सहभोजको आयोजना गरेर समाजमा सबै समान हो भन्ने भाष्य स्थापित गर्ने प्रयत्न गरेका थियौँ,’ उनले भनिन् । उनले आफू संघको जिल्ला अध्यक्ष भएपछि पटक–पटक प्रशिक्षण कार्यक्रम, दलित विद्यार्थी सम्मान तथा प्रोत्साहन लगायत कार्यक्रमहरू गरेको बताइन् ।