Logo

मिर्गौला पीडितलाई तनहुँ समाज हङकङद्वारा दुई लाख सहयोग



दमौली, २४ मङ्सिर: तनहुँ समाज हङकङले दुवै मिर्गाैला पीडित तनहुँको व्यास नगरपालिका–९ भोटेनीका मीनबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । दुवै मिर्गाैला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट रु दुई लाख ३० हजार ६१२ आर्थिक सहयोग गरिएको हो ।

उक्त सहयोग समाजका पूर्वअध्यक्ष भीमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित गुरुङलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै समाजका पूर्वअध्यक्ष गुरुङले सामाजिक काम गर्दै आएको समाजले आफ्नो क्षमताले भेटेसम्म विभिन्न रोगबाट पीडित भई उपचारमा रहेका बिरामीहरुलाई सहयोग गर्ने बताए । निवर्तमान अध्यक्ष थापाले तनहुँ समाज हङकङले जहिले पनि दीनदुखीको दुःखमा साथ दिँदै आएको बताए ।

यसअघि पनि समाजले तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ घर भएका दुईजना मिर्गौला पीडितलाई रु चार लाख ५७ हजार आर्थिक सहयोग गरेको थियो । दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका ४१ वर्षीय लुमबहादुर रिमालीलाई रु एक लाख ८२ हजार आठ सय र ३६ वर्षीय नेपालीलाई रु दुई लाख ७४ हजार दुई सय सहयोग गरिएको थियो ।

समाजले तनहुँमा विगत दश वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दसवटै स्थानीय तहमा रु १५-१५ हजार सहयोग गरेको थियो । साथै, गत असारमा आएको पहिराबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो । समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ ।

विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको ब्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ । समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।

समाजमा चार सय जना तनहुँवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।- रासस/File Photo



प्रतिक्रिया दिनुहोस्