काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको गुटको परिदृश्य एकै रातमा परिवर्तन भएको छ । गुटहरु विलय हुने र नयाँ बन्ने घटना समेत विकास भयो ।
सभापति शेरबहादुर देउवाले निकै मिहेनत गरेर आफ्नो समूहमा क्षति पुग्नबाट जोगाए । तैपनि, उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्मा देउवाको गुटबाट अलग भए । यो देउवाका लागि ठूलो क्षति हो । निधि मधेशमा राम्रो प्रभाव भएका नेता हुन् । शर्मा लोकप्रीय नेता हुन् । निधि आफै सभापतिका उम्मेदवार छन् । शर्मा पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहमा गएर महामन्त्रीको उम्मेदवार बनेका छन् ।
देउवा आफ्नो समूहमा पदाधिकारीका दाबेदार बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखक जस्ता नेताहरुको विद्रोह रोक्न सफल भए । विशेषगरी खाँड र साउद असन्तुष्ट थिए ।
१३औं महाधिवेशनबाट नयाँ गुट बनाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला देउवा समूहमा विलय भए । उनी प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउन सफल भएका छन् । सिटौलाले भने कुनै पदमा उम्मेदवारी दिएनन् । यसबाट उनी राजनीतिबाट विस्तारै सन्यास लिने दिशातर्फ बढेको संकेत देखिन्छ ।
१३औं महाधिवेशनमा सभापतिका उम्मेदवार रामचन्द्र पौडेल यसपटक कुनै पदमा उम्मेदवारी नदिइ बसे । उनी कुनै गुटमा खुलेनन् । पौडेल गुटको औपचारिक अन्त भएको छ । उनको समूह दुई भागमा विभाजित भई एउटामा प्रकाशमान सिंह र अर्कोमा डा. शेखर कोइराला नेतृत्वमा रहन पुगे । अब सिंह र कोइराला गुट विकास भएको छ ।
प्रकाशमान सिंहको समूहमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला पुगेकी छिन् । उनी उपसभापतिको उम्मेदवार हुन् । सुजाताको सिंहसँगको एलाइन्सलाई अर्थपूर्ण मानिएको छ । सिंहको समूहमा देउवा समूहमा रहँदै आएका काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि पुगेका छन् । यो समूहमा नेविसंघका पूर्व अध्यक्ष रञ्जीत कर्ण पनि पुगेका छन् ।
डा. शेखर कोइरालाको समूहमा चन्द्र भण्डारी, धनराज गुरुङ, मीनेन्द्र रिजाल, गगन थापा जस्ता नेताहरु छन् । संस्थापन इतरका अधिकांश नेताहरु यो समूहमा देखिएका छन् । तर, पदाधिकारीबाहेक केन्द्रीय सदस्यका उम्मेदवारहरुको कित्ता परिवर्तनको सम्भावना बढेको छ ।
काँग्रेसमा अब औपचारिक रुपमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला र विमलेन्द्र निधिको गुट देखिएको छ । देउवा गुट पहिल्यै थियो । सिंह, कोइराला र निधिको गुट नयाँ निर्माण भएको छ ।