काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसको नेतृत्वको दौडमा रहेकाहरु पार्टीको आन्तरिक चुनाव जित्ने रणनीतिका साथ बढेका छन् । उनीहरु ४७७३ मतदातालाई आकर्षिक गर्न दौडधूपमा छन् । तर, पदाधिकारीमा प्यानलमा परेर उम्मेदवार बनेकाहरुमध्ये कतिपय संसदीय चुनाव हारेका छन् ।
सभापतिका उम्मेदवार शेरबहादुर देउवा संसदीय चुनाव हारेका छैनन् । उनी डडेलधुराबाट २०४८ यता ६ पटक चुनाव जितेर किर्तिमान बनाएका छन् । सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंह काठमाडौंबाट पटक पटक निर्वाचित सांसद हुन् । उनी २०७४ सालमा पनि काठमाडौंबाट निर्वाचित भएका हुन् ।
सभापतिका प्रतिष्पर्धी डा. शेखर कोइराला मोरङबाट चुनाव हारेका थिए । उनी लालबाबु पण्डितसँग पराजित भएका थिए । चुनाव हारेपनि पार्टीको आन्तरिक राजनीतिमा कोइरालाले निकै मिहेनत गरी पकड बनाउन सके ।
सभापतिका प्रतिष्पर्धी विमलेन्द्र निधि विगतमा धनुषाबाट चुनाव जित्दै आएपनि २०७४ सालमा पराजित भए । उनी राजेन्द्र महतोसँग पराजित भएका थिए ।
उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी गुल्मीबाट प्रदीप ज्ञवालीसँग २०७४ सालको चुनावमा पराजित भएका थिए ।
महामन्त्रीका उम्मेदवारहरुमध्ये डा. प्रकाशशरण महत २०७४ को चुनावमा काठमाडौंबाट ईश्वर पोखरेलसँग पराजित भएका थिए । विश्वप्रकाश शर्मा झापाबाट र प्रदीप पौडेल तनहुँबाट झीनो मतान्तरले पराजित भएका थिए । यी दुवै काँग्रेसका लोकप्रीय अनुहार हुन् ।