काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित भएकोमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले बधाईसहित सफल कार्यकालका लागि शुभकामना दिएको छ ।
फाउन्डेसनका अध्यक्षसमेत रहेका पार्टी महामन्त्री डा. शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गरेको विज्ञप्तिमा दोस्रो कार्यकालमा पार्टीभित्र पूर्ण एकता एवं मेलमिलाप कायम गर्दै आगामी तीनै तहको निर्वाचनमा बहुमत दिलाउन सफलता मिलोस् भन्ने कामना गरिएको छ ।
पार्टीभित्र सबैलाई मिलाएर लैजाने जिम्मेवारीसमेत सभापतिकै काँधमा रहेकाले आगामी दिनमा आन्तरिक एकता एवं मेलमिलाप कायम गर्न पनि सभापतिलाई सफलता मिलोस् भनी वक्तव्यमा कामना गरिएको छ ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्गलबार भएको दोस्रोचरणको निर्वाचनमा देउवा निर्वाचित भएका छन् । सभापति देउवाको यो दोस्रो कार्यकाल हो । यसअघि विसं २०५९ असारमा नेपाली कांग्रेसबाट विभाजित भई बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति भएर पनि देउवाले काम गरिसकेका छन् । कांग्रेस प्रजातान्त्रिकले विसं २०६४ मा नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेको थियो । रासस